काठमाडौं जेठ, २१–
पोर्चुगलमा एक नेपालीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार मुसीकोट नगरपालिका–६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको पोर्चुगलको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा सवारी दुर्घटनामा मृत्यु भएको हो । मिल्फन्तोस लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा पर्छ ।
स्थानीय समयानुसार साइकलमा सवार रिजाललाई शुक्रबार राति ९ः३० बजेतिर तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए । लिस्बनमै रहेका उनका दाजु अमृतले दिएको जानकारी अनुसार, गम्भीर घाइते रमेशकुमारको सोही राति उपचारका क्रममा अस्पतालमा निधन भएको हो । शर्मा एक वर्षअघि मात्रै पोर्चुगल आएको दाजु अमृतले जानकारी दिए ।उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ ।
एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्कीले दाहसंस्कारका लागि आवश्यक कानूनी प्रक्रिया सुरु गरिएको बताए ।