रौतहट जेठ, २२–
रौतहटमा नगरपालिकाका मेयरमाथि कुटपिट भएको छ । राजपुर फरदहवा नगरपालिकाका मेयर शेख सकिललाई स्थानीय एक युवकले टर्चलाइटले प्रहार गरेका हुन् । इस्लाम धर्मावलम्बीको चाड इद उल–फित्र मनाउन महम्मुदिया मस्जिदमा बसेका मेयर चन्दा नदिएको आरोपमा कुटिएका हुन् ।
स्थानीयको एक समूहले इद मनाउनका लागि चन्दा नदिएको भन्दै उनलाई कुटपिट गरेका हो । ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए ।
पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको तर यसपटक ईदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिए पछि आक्रोशित बनेका शेख कासिम लगायतका व्यक्तिहरुले मेयर सकिलमाथि आक्रमण गरेका थिए ।
मस्जिदमा नवाज पढ्न गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा केही व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको मेयर सकिलले बताएका छन् । टाउकोमा चोट लागेका उनी उपचार पछि घर फर्किएका छन् ।
टाउकोमा चोट लागेका मेयरको गौर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । मेयरमाथि आक्रमण गरेका व्यक्तिहरुको पहिचान भएको र हाल उनीहरु फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले जानकारी दिए ।










