काठमाडौं जेठ, २८–
युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन गरेका छन् । उक्त सम्बोधनमा प्रधानमन्त्री ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको उल्लेख गरेका छन् । साथै, उनले नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको उल्लेख गरेका हुन् ।
अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेको जानकारी दिए।
प्रधानमन्त्री ओली जेनेभाबाट लण्डन पुगेलगत्तै हेलिकोप्टरबाट अक्सफोर्ड पुगेका थिए। विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड युनियनमा विश्वका नेता, प्राज्ञ तथा विचारकले मन्तव्य व्यक्त गर्दै आएका छन्।