लोकसेवाको विज्ञापन रद्द नगर्न चेतावनीसहित सडकमा उत्रिए विद्यार्थी



काठमाडौं जेठ, २८–
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रोक्न निर्देशन दिएको विरोधमा मंगलबार काठमाडौंमा प्रदर्शन भएको छ । सुशासन समितिले कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन रद्द गर्न दिएको निर्देशनको विरोधमा लोकसेवा तयारी तदर्थ समितिले आन्दोलन सुरु गरेको हो ।
सोमबार समितिले विज्ञापन रद्द गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको थियो । संघर्ष समितिले समितिले दिएको निर्देशन मान्य नहुने जनाएको छ ।
संघर्ष समितिमा आवद्ध विद्यार्थीहरुले संसदीय समितिले संविधान, कानुन र जनताको हित विरुद्ध सो निर्देशन दिएकाले सडक संघर्ष गर्न वाध्य भएको बताएका छन । राज्य व्यवस्था समितिले सो निर्देशन फिर्ता नलिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

विद्यार्थीहरुले स्थानीय तहमा करारमा कर्मचारी राखेर लोक सेवा आयोगको अधिकार क्षेत्रमाथि हस्तक्षेप नगर्न समितिलाई आग्रह गरेका छन् ।

संघर्ष समितिले चर्का नाराबाजी गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनप्रति आक्रोश व्यक्त गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार  ७ : ४९ बजे