काठमाडौं जेठ, २८–
नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले धर्मसंस्कृतिलाई नबिथोल्न सरकारलाई चेतावनी दिएका छन् । मंगलबार संसद बैठकमा बोल्दै बोल्दै सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गरेका हुन् ।
उनले काठमाडौं उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गरे उपत्यका घेराबन्दी हुने चेतावनी समेत दिए। सांसद केसीले सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै विधेयक उपत्यकाबासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने प्रष्ट पारे । धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको सांसद केसील उक्त घटनाको घोर भर्त्सना पनि गरे।
उनले भने, ‘यदि धर्मलाई र यहाँको परम्परालाई विशेष गरेर नेवार जातिको संस्कृति र संस्कारलाई चलाइयो भने १० औँ लाख मान्छे काठमाडौंमा उत्रनेछ ।’ सांसद केसीले थपे, ‘सरकारले राजधानीबासीलाई नाङ्लो ठटााएर हात्ती तर्साउने काम नगरोस्।’ केसी विधेयक फिर्ता नलिएर त्यसको विरोधमा काठमाण्डौ घेराबन्दी हुने र भयाभह स्थित श्रृजना हुने चेतावनी दिए। प्रधानमन्त्रीले विदेशीको धर्म प्रचार प्रशार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप उनले लगाए। हिन्दु धर्म मात्रै नभई बौद्ध लगायतका धर्मका पनि गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने गुठी विधेयक तत्काल फिर्ता गर्न उनले माग गरे। ‘
आफुहरुको धर्म र संस्कृति हनन गर्न लागेको भन्दै गुठीयारहरु निकै आक्रोशित छन्’, उनले भने, ‘काठमाडौंबासीको संस्कार र भावनासँग खेलबाड नगर्नु होला।’ ‘सभामुख महोदय, मैले बच्चामा स्कुल जाँदा सुनेको थिएँ। कम्युनिष्टहरु धर्म मान्दैनन। कम्युनिष्टहरु संस्कृति र सम्पदामा विश्वास गर्दैनन्’ उनले भने, ‘कम्युनिष्टहरु चाडपर्व, परम्परा र संस्कार मान्दैनन्।
यो कम्युनिष्टको दर्शन हो। यो कम्युनिष्ट को स्कुलिङ हो। आज यो चरितार्थ भएको छ।’ उनले भूमिसुधारमन्त्री पद्मा अर्यालले संविधानको गलत व्याख्या गरेको भन्दै संविधानलाई अक्षरस अध्ययन गर्न आग्रह गरे। सोमबारको बैठकमा मन्त्री अर्यालले संविधान अनुसारनै गुठीसम्बन्धी विधेयक आएको दाबी गरेकी थिइन्।