मेयरले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै पोखरा महानगरपालिकामा कांग्रेसको ताला



पोखरा –

कांग्रेस निकट जनप्रतिनिधिले पोखरा महानगरपालिकाको गेटमा ताला लगाएका छन् ।

पाँचौं नगरसभामा महानगरले प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेडबुक) र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने मागसहित उनीहरुले महानगरको गेटमा ताला लगाएका हुन् ।

महानगरले नगरसभाको चौथो दिन बुधबार रेडबुक प्रस्तुत गरेको थियो । रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा र बजेटबारे बोल्ने मौका पनि दिनुपर्नेमा एक्लौटी गरेपछी ताला लगाइएको बताइएको छ ।

पोखरा–,९ का वडाध्यक्ष रामराज लामिछानेले उक्त रेडबुकमाथि छलफल नै नभई पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जीसीले धम्कीपूर्ण अभिव्यक्ति दिएकोले ताला लगाएको बताए ।

उनले भने, ‘हामी जनताले चुनेर जनप्रतिनिधि भएका हौं । उहाँले त्यसरी भन्नुहुन्थेन, जनताबाटै उठेको रकमले त आएको हो बजेट । हामीले नै माग्न नपाउने ?’

बजेट र अभव्यिक्ति नसच्याएसम्म आन्दोलन गर्ने र अटेर गरे आन्दोलन थप सशक्त बनाउने लामिछानेले बताए ।मेयरले एक्लौटी गर्न खोजे पछी बुधबारको नगरसभा बैठकमा कांग्रेसनिकट वडाध्यक्ष र मेयर बिच बिबाद भएको थियो ।

महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  ५ : ५३ बजे