काठमाडौं । कञ्चनपुरमा शिक्षकको कुटपिटबाट एक विद्यार्थीको ज्यान गएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयमा अध्यानरत माधव कलौनीको उपचारका क्रममा भारतमा मृत्यु भएको हो।
उनलाई असार १३ गते तीन जना शिक्षकले कुटपिट गरेका थिए। शिक्षकको कुटपिटबाट भएका उनको छाती, टाउकोमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो।
कञ्चनपुरमा मामाको घरमा बसेर पढिरहेका माधव को स्थायी घर भने बैतडीको मेलौली थियो । मृतकका मामा प्रकाश जोशीले शिक्षकको कुटपिटले नै उनको मृत्यु भएको बताए ।
घाइते विद्यार्थीलाई उपचारका लागि महाकाली तथा सेती अञ्चल अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि भारतको भोजपुर मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको हिजो भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।
उनका अनुसार, आज उनको शव नेपाल ल्याइँदै छ। शव भारतमै भएकाले अहिले मौखिक जानकारीमा मात्रै आएको उनले बताए।
विद्यार्थीका आफन्तले घाइते भएकै बेला तीन जना शिक्षकको नाममा उजुरी दिएका थिए। मृत्यु भएपछि भने उजुरी नआएको प्रहरी निरीक्षक भट्टले बताए ।
बालकको मृत्यु भएको जानकारी आएपछि प्रहरीले तीन जना शिक्षकलाई पक्राउ गरेको छ। शिक्षक दुर्गादत्त पाठक, लक्ष्मीदत्त भट्ट र हर्कबहादुर जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे मृतक विद्यार्थीको शव नेपाल ल्याएपछि अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।