परिक्षाको सँघारमा लोकसेवा विज्ञापन खारेज गर्न दवाव दिँदै प्रदर्शन



काठमाडौं । लोकसेवा आयोगको केन्द्रिय कार्यालय अगाडि बिहीबार प्रदर्शन गरिएको छ । स्थानीय तहको कर्मचारी भर्नाका लागि गरिएको विज्ञापन खारेज गर्न दवाव दिँदै प्रदर्शन गरिएको हो ।

स्थानीय तहमा कर्मचारी भर्नाका लागि खुलाइएको सो विज्ञापनमा संंविधानबमोजिम समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतले प्रदर्शन गर ेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सो विज्ञापन खारेज गर्न दवाव दिँदै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरुले संविधान प्रतिकूल हुने गरी आएको सो विज्ञापनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस मौन बसेको प्रति समेत आक्रोश पोखेका थिए । संविधानले समावेशी, समानुपातिक सिद्धान्तको आधारमा विज्ञापन खुलाउने स्पष्ट व्यवस्था गरेपनि लोकसेवा आयोगले त्यस विपरित स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन खुलाएको दावी गर्दै सिमान्तकृत समुदायले आन्दोलन गर्दै आएका छन ।

भोलि शुक्रबारबाट सो विज्ञापनको परीक्षा सुरु हुँदैछ । आन्दोलनरत पक्षले त्यसको मुखैमा लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन गर्दै सो विज्ञापन खारेज गर्न माग गरेका हुन् । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले कार्यालयको गेटबाट हटाउने क्रममा घचेटेको थियो । प्रदर्शनकारीहरुले प्रहरीले हस्तक्षेप गरेको भन्दै चर्का नाराबाजी पनि गरेका थिए । गएको जेठ १५ गते सरकारको सिफारिसमा लोक सेवा आयोगले विज्ञापन खुलाएको थियो । त्यस लगत्तै निरन्तर विरोध हुँदै आएको छ ।

प्रकाशित मिति : श्रावण २, २०७६ बिहीबार  ९ : ०३ बजे