जापान जाने नेपाली कामदारका लागी आगामी कार्तिकमा भाषा र सिप परिक्षा



काठ्माण्डौ-

नेपाली कामदार जापान जाने प्रकृयाको तयारी र आवाश्यक छलफल शुरु गरिएको छ । भाषा र सीपसम्बन्धी परीक्षा अक्टोबरको अन्तिम साताबाट शुरू हुने बिबिसी समाचारमा उल्लेख छ ।

जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा अक्टोबरको अन्तिम साताबाट शुरू हुने श्रम मन्त्रालयले जनाएको छ।

जापान सरकारले शुरूमा अरूको हेरचार गर्ने ‘केयरगिभर’ का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको मन्त्रालयका सचिव महेशप्रसाद दहालले बताए।

तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको भन्ने चाहिँ आफूलाई जानकारी आइनसकेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

“हामीले पहिला भाषा परीक्षा लिनका लागि अक्टोबर महिनाको २७२८ तारिख तोकेका छौँ,” सचिव दहालले भने, “त्यसपछि सीपसम्बन्धी परीक्षा नोभेम्बरको ६ र ७ तारिखमा हुन्छ।”

गत चैतको दोस्रो साता नेपाल र जापान सरकारबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओयू) मा हस्ताक्षर भएको थियो।

त्यतिबेला उक्त सम्झौता अनुसार नेपालबाट कामदार जापान पठाउने प्रक्रिया एप्रिल महिनाबाटै शुरू हुने बताइए पनि त्यसमा अलमल भएको थियो।

भाषा र सीपसम्बन्धी परीक्षा सकिएको दुई महिनाभित्र नेपाली कामदार जापान जाने सचिव दहालले बताए।

“परीक्षाकै बीचमा हामी कामदारको स्वास्थ्य जाँच लगायत कसरी गर्ने भन्ने जापानी पक्षसँग छलफलमै छौँ,” दहालले भने, “अहिलेसम्मको कुरा अनुसार कामदारले परीक्षा शुल्क र जापान जानका लागि टिकटको पैसा तिर्नुपर्ने भन्ने छ तर सबै निर्णय भइसकेको छैन।”

गत डिसेम्बरमा जापानको मन्त्रिपरिषद्ले विदेशी कामदारलाई आफ्नो देशमा भित्र्याउने नीति पारित गरेपछि नेपालीलाई पनि कामदारका रूपमा जापान जाने बाटो खुलेको थियो।

दुई सरकारीबीच भएको सहमति अनुसार जाने नेपालीहरूले १४ वटा विभिन्न क्षेत्रमा काम गर्न पाउँछन्।

नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा नेपाली लगायत अन्य आठवटा मुलुकबाट जापानले कामदार लिन खोजेको बताइएको छ।

पहिलो चरणमा उसले केयरगिभर लिन खोजेको र त्यसका लागि नेपाल र फिलिपिन्ससँग सम्झौता भएको बताइन्छ।

उनीहरू कतिपय देशसँग सम्झौता गर्ने चरणमै रहेकाले कति नेपालीलाई लिने भन्ने टुङ्गोमा नपुगिसकेको अधिकारीहरू बताउँछन्। बिबिसिबाट

प्रकाशित मिति : श्रावण ६, २०७६ सोमबार  १ : ५४ बजे