जनकपुरधाम-
जनकपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अर्का उपसचिवसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
आर्थिक वर्ष २०७४र२०७५ मा विद्युतीय सामग्रीहरू खरिद गर्दा अनियमितता ११ लाख ३५ हजार ४११ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले उपसचिव अर्जुनप्रसाद सुवेदीसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सुवेदी, उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी, नायव सुब्बा अब्दुल जब्बार र सत्या इन्टरप्राइजेजका प्रोप्राइटर मनिषकुमार मिश्र विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीसमेतले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रसँग मिलेमतो गरेको पाइएको अख्तियारको अनुसन्धानले देखाएको छ । एउटै व्यक्तिलाई तीन वटा फर्मको नाममा टेन्डर हाल्न लगाएर सत्याको दररेट स्वीकृत गरेको तथा प्रतिस्पर्धालाई सीमित बनाउन टेन्डर टुक्राएको तथा एउटै आर्थिक वर्षमा पटक पटक सीमाभन्दा बढी मूल्यमा स्वीकृत दररेटभन्दा बढी विद्युतीय सामग्रीहरू खरिद गरेको अख्तियारको दाबी छ ।










