२० साउन- सोम दियाली, सर्लाही
विद्यालय आउन जान सहज होस् भन्ने उदेश्यका साथ जिल्लाका चार स्थानीय तहका २५३ बालिकाहरुलाई साईकल वितरण गरिएको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालसँगको साझेदारीमा मलंगवा स्थित राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)ले जिल्लाको चन्द्रनगर, पर्सा, ब्रह्मपुरी गाउँपालिका र हरिपुर्वा नगरपालिकाका १७ विद्यालयका कक्षा ७ मा अध्ययनरत बालिकाहरुलाई साईकल वितरण गरिएको हो ।
उनीहरुलाई प्रति व्यक्ति ७ हजारका दरले १७ लाख ७१ हजार बरावरको साईकल वितरण गरिएको आयोजक संस्था राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवाका लेखा तथा प्रशासकीय संयोजक लालबाबु साहले बताए । मधेशमा विचैमा विद्यालय छाड्ने बालिकाको संख्या धेरै छ, यसलाई सुधार गर्न बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्नु जरुरी भएकोले हामीले उनीहरुको लागि साईकल प्रदान गरेका हौं, आरआरपिके का मूल्यांकन तथा अनुगमन प्रमुख आतित्य पटेलले भने । पटेलका अनुसार अट्रेलियन एड को आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल सँगको साझेदारीमा आरआरपिके ले यी चार स्थानीय तहमा चार वर्षे समावेशी शिक्षा(सिकाई) कार्यक्रम संचालन गरेको छ । समग्र शिक्षाको स्तरवृद्धिको उदेश्य राखि संचालन गरिएको सिकाई कार्यक्रम अन्तर्गत बालिकाहरुलाई साईकल वितरण गरिएको संस्थाले जनाएको छ । यसैवीच, प्रदेश २ का समाजिक विकास मन्त्री अभिराम शर्माले संघिय सरकार र प्रदेश सरकार बिच जुनसुकै समय मुठभेड हुने स्थिति सिर्जना हुन सक्ने बताए ।

साईकल वितरण कार्यक्रममा प्रमुख अतिथी भई सर्लाही आएका मन्त्री शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सरकारले प्रदेश सरकारलाई संविधानमा दिएको अधिकार अब पनि नदिए प्रदेश सरकार र संघीय सरकार बिच मुठभेट हुन सक्ने बताए । राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) ले छात्राहरुलाई साईकल वितरण गरेर प्रदेश सरकारको वेटी वचाउ बेटी पढाउन अभियानलाई सहयोग गरेको प्रति आभार प्रकट गरे । मन्त्री शर्माले प्रदेश सरकारले पनि बेटि बचाउ बेटि पढाउ कार्यक्रम अन्तर्गत प्रदेश २ का सवै सामुदायिक विद्यालयको कक्षा ८ पढने छात्राहरूको लागि साईकल बितरण गर्ने र दलित छात्राहरूको लागि प्रोत्साहन भत्ता समेत वितरण गरिने बताए
। उनले प्रदेश र स्थानीय सरकार अनुकल सरकारले पाठयक्रम निर्माण नगरेकै कारण शिक्षा नेपालमा शिक्षाको गुणस्तर दिनप्रतिदिन खस्कदै गएको बताए । त्यस्तै साईकल वितरण कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य उपेन्द्र महतोले तराईमा शिक्षाको अवस्था दयनिय रहेकोमा संघिय सरकारले कुनै चासो नदिएको बताए । स्थानीय तहलाई शिक्षक सरुवा, तलव खुवाउने अधिकार सरकारले दिए देशैभरिको शिक्षा क्षेत्रमा आमुल परिवर्तन हुने प्रदेश सभा सदस्य महतोले दावी गरे ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) का अध्यक्ष शिवजी साहको अध्यक्षतामा भएको साईकल वितरण कार्यक्रममा चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो, पर्सा गाउँपालिकाका अध्यक्ष किशुनदेव यादव, ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोद यादव, हरिपुर्वा नगरपालिकाका मेयर सियाराम राय, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, सम्बन्धित विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।










