सोम दियाली, सर्लाही भदौ १३ –
सर्लाहीको हरिवनमा जिल्लामै पहिलो पटक चेस अर्थात बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । वुद्धिचाल संघ सर्लाहीले राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद, विद्यार्थीको शान सर्लाही जिल्लाको पहिचान भन्ने नाराका साथ मावि स्तरीय प्रथम चेस प्रतियोगिता सुरु गरेको हो । संघका सर्लाही अध्यक्ष विजय अधिकारीको अध्यक्षतामा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले प्रतियोगिताका हरिवन स्थित महादेव जनता नमूना मावि मा उद्घाटन गर्नु भएको छ ।
प्रतियोगितामा हरिवन, लालबन्दी सहित जिल्लाका ५ ओटा नगरपालिका भित्रका १३ माविका ४१ विद्यार्थी सहभागि भएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजक एवं संघका जिल्ला सदस्य यूवराज भण्डारीले जानकारी दिनु भयो । शुक्रवार सुरु भएको प्रतियोगिता शनिवार सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न १३ विद्यामा मेडल सहित नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो दिन ३ र अन्तिम दिन ४ गरी ७ चरणमा प्रतियोगिता गराईने आयोजकले बताएको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल, वुद्धिचाल संघका केन्द्रीय सचिव धर्म लामा, संघकै २ नम्बर प्रदेश अध्यक्ष अजय अग्रवाल, हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहवुव रेजा, खेलप्रेती डोर प्रसाद भट्टराई, चुडामणि वाग्ले लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्धिचाल प्रतियोगिताले सर्लाहीमा पनि व्यापकता पाउनेमा आफुहरु विश्वस्त रहेको बताएका छन् ।










