कबिता-
टण्टलापुरे घामको ताप मलाई अझै सम्झना छ
त्यहि घाममा मेरी आमाले मेरै लागि एकहलको रोपाईं गरेको
आलीको डिलमा भटमास रोपेको पनि मेरै लागि थियो
मलाईनै खुवाउन ।
पटुका कसी आर्जन गरेको २।४ पैसा
त्यो पनि कसैको लागि थिएन
म्ोरै स्कुल फि बुझाउनको लागि थियो ।
पल्लो घरकी संगिनीले दिएकी
मजेत्रो पनि उनको लागि थिएन
मेरै लागि , सुकिलो कमेज लाईदिन थियो ।
कसैले दिएको चाचा पापा पनि
संगाली संगााली राख्नु पनि मेरै लागि थियो
उनी जाडोले कठ्याङ्ग्रीदा पनि
आफ्नो गोदमा राखेर
तातो बनाउनु पनि मेरै लागि थियो ।
जोगाई जोगाई राखेको सुर्के थैली पनि
अरु कसैको लागि नभई मेरै लागि थियो
त्यहि एक फोओटा जमिनको तिरो तिर्न
त्यो पनि मेरै लागि थियो ।
मिल्किएका सेता कागजका टुक्रा पनि
बटुली बटुली ल्याईदिने काम पनि
अरु कसैको लागि थिएन
मलाईनै कखरा चिनाउनको लागि थियो ।
मलाई पारी गाउं बाट
चेप्टो धुलौटो पाटी ल्याउनु पनि
त्यो अरुको लागि थिएन
मेरै भबिष्य कोर्नको लागि थियो ।
म बिरामी हुंदा निन्याउरो मुख लाउने
अरु कोही नभई उनै मेरी आमा थिईन्
त्यो पनि मेरै लागि थियो ।
आफ्नो कोखलाई चीरा चीरा बनाएर
आफू मरेर मलाई बचाई राख्ने
अरु कोही नभएर
तीनै मेरी आमा थिईन् ।
मेरी आमाले माया गरे झै
मैले पनि त्यस्तै माया गर्नुछ
मैले पनि त्यस्तै गर्नु छ ।
(लमजुङ् जिल्लाको राईनास नगरपालीका – ७ मा जन्मिएका लेखक साहित्यकार कृष्ण मणि पराजुली नेपाल सरकारको अबकाश प्राप्त उप सचिब हुन ।बिभिन्न समयमा पराजुलीका कृती र लेख रचनाहरु राष्ट्रीय सञ्चारमाध्यमहरुमा प्रकाशित भएका छन ।