काठमाडौं-
सिन्धुपाल्चोकको मेलम्चीमा गाेली चल्दा दुई जना घाइते भएका छन्। गाेली लागी घाइते भएका मनाेज चाैधरी र बालमुकुन्द अधिकारीको क्षेत्रीय स्वास्थ्य चाैकी मेलम्चीमा उपचार भइरहेकाे छ।
भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बुको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि गाेली प्रहार भएको हो। घटना हिंसात्मक हुन लागेपछि नियन्त्रणका लागि सुरक्षाकर्मीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको दाबी गरेकाे छ। बिहीबार दिउँसो करिब ३ बजे उक्त घटना भएको हो।
आयोजनाको पूर्वठेकेदार इटालियन कम्पनी (सिएमसी) सँग बाँकी भुक्तानी नपाएको भन्दै आपूर्तिकर्ता मजदुर निरन्तर आन्दोलनमा छन्। बुधबार पनि उनीहरुले मेलम्ची बजारस्थित खानेपानीको कार्यालयमा घेराबन्दी गरेका थिए।
मुहानस्थलमा रहेको अम्बाथानको सुरक्षापोष्ट पार गर्दै करिब ३ सयको संख्यामा सहभागी आन्दोलनकारी मुहान क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि चेकपोष्टमा तैनाथ सशस्त्र प्रहरीको टोलीले ८९ राउन्ड अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय हेलम्बुका इन्पेक्टर मणिराम लामिछानेले बताए।