मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न :अब नेपाली भूउपग्रहले सूचना र तस्वीर पठाउने



ललितपुर-

नेपालमा पहिलोपटक भूउपग्रहबाट सूचना र तस्वीर सङ्कलन गर्ने ग्राउण्ड स्टेशन निर्माण सम्पन्न भएको छ।ग्राउण्ड स्टेशनको निर्माणले नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न र सूचना प्रवाह गर्ने सम्भब बनाएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)ले गत बिहीबारबाट सो ग्राउण्ड स्टेशनको सहायतामा भूउपग्रहको जानकारी लिन शुरु गरेको हो। नाष्टको कार्यालयमा जडान गरिएको रेडियो उपकरण र सफ्टवयेरको सहायताबाट सो भूउपग्रहको तथ्याङ्क लिन शुरुआत गरिसकेको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए।

“नेपाली स्याट–१ ले एक दिनमा १५ देखि १६ पटक पृथ्वीको परिक्रमा गर्ने हुँदा सो भूउपग्रह नजिक आएको बेला ट्रयाक गर्ने गर्छौं”, ढुङ्गेलले भने, “जापानस्थित क्यूटेक विश्वविद्यालयले विगतमा निर्माण गरिसकेको ‘वर्ड–टु’ परियोजनाका अन्य भूउपग्रहको जानकारी पनि सो ग्राउण्ड स्टेशनबाट लिन सकिने भएको छ।” सो ग्राउण्ड स्टेशनले नाष्टलाई गत भदौ २७ गते नेपाली स्याट–१ पूर्वी नेपालको एक छेउ हुँदै पास गरेको जानकारी दिइसकेको छ।

नाष्टले सो ग्राउण्ड स्टेशनको सहयोगमा नेपालको सिधा आकाशमा आएका जुनसुकै भूउपग्रह वा नेपालसँग नजिक भएर गएका भूउपग्रहको जानकारी लिन सक्ने भएको छ। आफ्नो कार्यालयमा चार वटा सफ्टवेयर जडान गरी ग्राउण्ड स्टेशनबाट जानकारी हासिल गरिरहेको नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिए।सो सफ्टवेयरको सहायताबाट नेपाली स्याट–१ कहाँ छ, कार्यालयमा जडान गरिएको एन्टिनाको अवस्था कता फर्केको छ सबै थाहा पाउन सकिने उनले बताए।आज नेपाली स्याट–१ छ पटक नेपालको आकाशमा आउने भएको छ। पहिलो पटक बिहान ३ बजेर ७ मिनेट देखि ३ बजेर १२ मिनेट दोस्रो बिहान ४ बजेर ४२ मिनेटदेखि ४ बजेर ५१ मिनेट, तेस्रो बिहान ६ बजेर २१ देखि ६ बजेर २४ मिनेट चौथो साँझ ६ बजेर ९ देखि ६ बजेर २४ मिनेट पाँचौं बेलुका ७ बजेर ४१ मिनेट देखि ७ बजेर ५० मिनेट र अन्तिम राति ९ बजेर १९ मिनेट देखि ९ बजेर २५ मिनेटसम्म भूउपग्रह आउने जानकारी आइतबार हासिल गरिसकेको नाष्ट स्रोतले जानकारी गरायो।

भूउपग्रह नेपाली आकाशमा आउनुपूर्व नाष्टको सो सम्पर्क कार्यालयमा जडान गरी राखिएको कम्प्युटरमा सङ्केत वा भविष्यवाणी आउँछ। नाष्टको माथिल्लो तलामा जडान गरी राखिएको ऐन्टिना त्यसपछि घुम्छ। केही बेरपछि ध्वनि आउँछ र केही समयमा सो भूउपग्रह नेपाली आकाशमा आएको जानकारी हासिल गर्न सकिने नाष्टका प्राविधिकले बताए।सो भूउपग्रहमा जडान गरी राखिएको ब्याट्रीको क्षमता चार भोल्ट, सो ब्याट्रीमा रहेको करेन्टको क्षमता २३४ मिलि एम्पाएर, ब्याट्रीको तापक्रम नौ डिग्री सेल्सियन रहनुका साथै त्यसमा पाँच वटा सोलार पाता जडान गरी राखिएको नाष्टका सहायक अनुसन्धानकर्ता दिबोध लामिछानेले जानकारी दिए।

नेपालले पहिलोपटक प्रक्षेपण गरेको सो भूउपग्रहका कारण नेपाललाई ठूलो भूउपग्रह निर्माण गर्न सहयोग पुग्ने नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए। देशको पहिलो भूउपग्रह नेपाली स्याट १ ले जापानमा पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचिसक्यो। उक्त भू उपग्रह गत वैशाख ४ गते अमेरिकाबाट प्रक्षेपण भएको थियो।जापानस्थित क्यूटेक विश्वविद्यालयमा हाल अध्ययनरत नेपाली विद्यार्थी हरिराम श्रेष्ठले सो ‘वर्ड–थ्री’ परियोजनाका कारण हाल ‘वर्ड–फो’ निर्माणको प्रारम्भिक चरण अध्ययन गर्ने मौका पाउनुभएको ढकालले जानकारी दिए।अति बादल र बढी घामका कारण जापानमा पहिलोपटक नेपाली स्याट–१ ले खिचेको तस्वीर धमिलो कैद भयो। सो भूउपग्रहले सूर्य र पृथ्वीको तस्वीर मात्रैै कैद गरेको होइन चीन र भारत सिमानाका तस्वीर पनि कैद गरेको नाष्टले बताएको छ।

अनुभवी दक्ष जनशक्तिको अभाव, प्रशासनिक विधि र सार्वजनिक खरीद ऐनमा समय खर्च गर्नुपरेकाले तोकिएको समयमै ग्राउण्ड स्टेशन निर्माण गर्न नसकिएको नाष्टका प्राविधिक बताउँछन्। नाष्टले ग्राउण्ड स्टेशन निर्माणको लागि सात देशबाट आवश्यक सामग्री सङ्कलन गर्नुपरेको बताइएको छ।रासस

 

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ५ : ५८ बजे