लगानीकर्ता सहजीकरण केन्द्र सञ्चालनमा



काठमाडौं–

उद्योग विभागले उपलब्ध गराउँदै आएको सेवालाई सहज बनाउन तथा लगानीकर्ताको थप सुविधाका लागि लगानीकर्ता सहजीकरण केन्द्र  स्थापना गरी कार्यान्वयनमा ल्याएको छ।

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाका अनुसार विभागले लगानीकर्तालाई विभिन्न प्रकारका जानकारी लिन सजिलो होस् भन्ने उद्देश्यले यस्तो सेन्टर स्थापना गरिएको हो।

सहजीकरण केन्द्रमा विभागका कर्मचारीले लगानीकर्तालाई सहजीकरण गर्नेछन्।केही समयअघि विभागले नै सर्वसाधारणलाई उद्योग व्यवसायमा लगानीसम्बन्धी सबै काम एकै ठाउँबाट गर्न मिल्ने सुविधासहित एकल बिन्दु सेवा कार्यान्वयनमा ल्याएको थियो।

लगानीकर्तालाई उद्योग दर्ता, कम्पनी दर्ता, दर्तापछिको प्रकृया, वैदेशिक लगानी स्वीकृति, भिसा सिफारिस, विभिन्न सुविधा तथा सहुलियतका विषयमा जानकारी सहजीकरण केन्द्रमार्फत पाइने छ।

सहजीकरण केन्द्रमार्फत लगानीर्तालाई आवश्यक सूचना उपलब्ध गराउने र विधि प्रकृयाहरुका बारेमा जानकारी उपलब्ध गराउँदा मुलुकको लगानी गर्ने वातावरणमा सकारात्मक प्रभाव देखिने अपेक्षा राखिएको महानिर्देशक सिटौलाको भनाइ छ।

प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार  १ : ०६ बजे