न्यू सञ्चार , काठ्माण्डौ-
हिन्दू सनातन धर्ममा भगवानप्रतिको आस्था र पुजाआजालाई महत्वपुर्ण मानिन्छ ।
बैदिक काल देखीनै बिभिन्न देबी दबताहरुको पुजा आजा हुँदै आएको छ । भगवानप्रतिको आस्थाले मानिसमा सकारात्मक सोचको बिकाश गर्ने र त्यसले मानब जिबनलाई राम्रो गर्ने आधुनिक बिज्ञानले समेत पुष्टी गरी सकेको छ ।
बिभिन्न हिन्दू धर्म शाष्त्रहरुमा कुन कुन बार कुन भगवानको पुजा – आजा गर्दा उत्तम रहन्छ भन्ने समेत खुलाईएको छ ।हप्तामा हुने सात बारहरुको आफ्नै महत्व र आफ्नै बिशेषता रहने भएकोले अलग अलग बार अनुसार भगवानको पुजा गर्दा उत्तम फल प्राप्त हुने बताइएको छ ।
बिभिन्न हिन्दू धर्मका ग्रन्थहरुमा उल्लेख गरिए अनुसार बार अनुसारको पुजा बिधी एस्तो रहेको छ –
आइतबारः आइतबारलाई सूर्य देवको बार मानिन्छ । यस दिन व्रत बस्नु, घिऊँ, तेल र नुनबाट टाढा रहनुले शुभ फल मिल्नेछ । आइतबारको दिन रातो रंगको कपडा लगाउने, रातो चन्दनको टीका लगाउने र रातै रंगको फल–फूल सूर्य नारायणलाई अपर्ण गरी गरिबहरुलाई बाढेको खण्डमा फल प्राप्ति हुनेछ ।
सोमबारः सोमबारको दिन देवताको पनि देवता, महादेव र चन्द्र ग्रहको पूजा गरे फल प्राप्ति हुनेछ । विवाह नगरेका कन्याले आफुले चाहेको जीवन साथी पाउनका लागि यो दिन व्रत बसे मनोकांक्षा पूरा हुने विश्वास छ । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुनेछ ।
मंगलबारः मंगलबारको दिन हनुमान र मंगल ग्रहको लागि समर्पित छ । मंगलबारको दिन हुनमानको जन्म भएको थियो । यो दिन व्रत बस्नाले जीवनमा कहिल्यै पनि अशुभले घेर्ने छैन । यो दिन रातो वस्त्र लगाउनु उत्तम हुनेछ । हनुमानलाई रातो रंगको मिठाइ चढाएको खण्डमा शनि तथा मंगल ग्रहको शुभकामना मिल्नेछ ।
बुधबारः यो दिन बुद्धिका दाता भगवान श्री गणेशको उपासनाको दिन हो । बुधबार श्री गणेशका साथै बुध ग्रहको पनि पूजा गरिन्छ । यो दिन हरियो रंगको कपडा लगाउनु शुभ हुनेछ । मुंगको दाल, घिऊँ वा दहीको दान गरेमा समाजमा मानसम्मान बढ्ने र बुद्धि बढ्ने छ । साथै, यो दिन दही युक्त अन्नले भगवान विष्णुको पूजा गर्नाले पुत्र सुख मिल्ने छ ।
बिहीबारः बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।
शुक्रबारः यो दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ । यो दिन सेतो कपडा लगाउनु पर्नेछ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ ।
शनिबारः यो दिन भगवान शनिदेवप्रति समर्पित छ । त्यसैले यदि तपाईंको शनिको दशा चलिरहेको छ भने यो दिन मन्दिरमा शनिदेवको पूजा गरेर शान्त पार्न सक्नु हुनेछ । यो दिन भगवान हनुमान तथा काली माताको पनि पूजा गरिन्छ । शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा पनि लिइन्छ । यो दिन शनिदेवका साथै भगवान रुद्रको पूजा गरिन्छ । शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिबलाई दान गर्दा फल प्राप्ति हुनेछ ।
श्रोत -बिभिन्न धार्मिक सञ्चारमाध्यम तथा सामाग्रीहरु