कोहलपुरमा कर्फ्यू आदेश जारी : झडपका क्रममा डिएसपी शाही सहित दर्जन बढी घाइते



बाँके-

बाँकेको कोहलपुरमा भैरहेको प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

ट्रकको ठक्करबाट एक छात्रा गम्भीर घाइते भएपछि सुरु भएको प्रदर्शन उग्र बन्दै गएको हो ।केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।

प्रहरी र प्रदर्शनकारी बीच निरन्तर झडप भैरहेका छन् ।झडपका क्रममा दर्जन बढी प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

कोहलपुरका डिएपी हेम बहादुर शाही पनि झडपका क्रममा घाइते भएका छन् ।प्रदर्शनकारीले सडकमा रहेका गाडी तोडफोड गरिदिएका छन् । छात्रालाई ठक्कर दिने ट्रकमा आगजनी गरिएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नसकेपछि कफ्र्यु लगाउनु पर्ने अवस्था आएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारीले अवस्था बिग्रन नदिन कफ्युका लागि जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको बताएका छन् ।ईलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र रहेको क्यान्टीनमा आगजनी गरीएको छ ।

कोहलपुरमा जारी आन्दोलनकै क्रममा क्यान्टीनमा आगजनी गरीएको हो ।प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले ईलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निशेधित घोषणा गरेको छ ।

प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार  ९ : ३२ बजे