मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसमा लचिलो बन्दै पौडेल पक्ष, सहमतिबाटै अघि बढ्ने निर्णय



काठमाडौँ । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ‘प्याकेज’ मै भागबन्डाको प्रयास सफल नभए विधानअनुसार अघि बढ्न सभापति शेरबहादुर देउवालाई दबाब दिने रणनीति बनाएको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा सोमबार बसेको पौडेल पक्षको बैठकले सभापति देउवाले विधानविपरीत पार्टी सञ्चालन गर्न खोजेको निष्कर्ष निकालेको छ ।

महाधिवेशनको कार्यतालिका, विभाग र भ्रातृसंस्था गठनको विषयलाई लिएर दुई सातादेखि कांग्रेसमा कलह चुलिएको छ । महाधिवेशन कार्यतालिका नल्याइएको भन्दै पौडेल पक्षले मंसिर २६ देखि केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ । सहमति जुटाउन भन्दै पछिल्लो पटक पुस १० सम्मका लागि बैठक स्थगित गरिएको छ ।

देउवा र पौडेल पक्ष महाधिवेशनको कार्यतालिका, विभाग, नेविसंघ र तरुण दल गठनको मुद्दालाई प्याकेजमै सहमति गर्ने भन्दै निरन्तर संवादमा छन् । पछिल्लो पटक नेविसंघको भागबन्डामा केन्द्रित छ । नेविसंघको भागबन्डामा अहिलेसम्म दुवै पक्ष टसमस नभएपछि आगामी बैठकसम्म पनि सहमति जुट्ने सम्भावना क्षीण हुँदै गएको पौडेल पक्षीय एक केन्द्रीय सदस्यले बताए । दुवै पक्षका वार्ता टोलीले भने सहमति हुने दाबी गर्दै आएका छन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले सहमतिबाटै सबै विवाद हल गर्ने प्रयास जारी भएको बताए । ‘कार्यतालिका, विभाग र तरुण दलको विषयमा सहमतिजस्तै बनेको छ,’ उनले भने, ‘नेविसंघका केही विषय मिल्न बाँकी छन् । त्यसलाई समेत मिलाउन संवाद भइरहेको छ ।’

पौडेल पक्षीय वार्ता टोलीका सदस्य हृदयराम थानीले सहमतिबाटै अघि बढ्ने प्रयास भएको बताए । ‘विधानको प्रक्रियासमेत नमिचिने गरी सहमतिबाटै सबै विषय अघि बढाउन हामीले चाहिरहेका छौं,’ उनले भने, ‘अहिले भइरहेको छलफल त्यसै दिशामा केन्द्रित छन् ।’ सोमबार महाराजगन्जमा बसेको बैठकमा भने पौडेल पक्षीय वार्ता टोलीका सदस्यहरूले भागबन्डामा सहमति जुट्ने सम्भावना क्षीण भएको ‘ब्रिफिङ’ गरेका थिए । भागबन्डामा सहमति जुट्ने संकेत नभएपछि अधिकांश नेताहरूले सभापति देउवालाई विधानअनुसारै चल्न दबाब दिनुपर्ने बताएका थिए ।

बैठकले पौडेल पक्षीय वार्ता टोलीका सदस्यहरूलाई दह्रो अडानका साथ कुरा राख्न सुझाव दिएको छ । महाधिवेशनको कार्यतालिकासहित विभाग र पार्टीका भ्रातृसंस्थाको विषयमा प्याकेजमा सहमति जुटाउन पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा थानी र दिलेन्द्र बडू सदस्य रहेको वार्ता टोली बनाएको छ । देउवा पक्षबाट उपसभापति निधि आफैं खटिएका छन् ।
केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार कार्यतालिका बनाउँदा र विभाग, तरुण दल तथा नेविसंघ गठन गर्दा विधानअनुसारको अडान छाड्न नहुने निष्कर्ष बैठकले निकालेको बताए । ‘नेविसंघ गठनसमेत विधानअनुसारै गर्नुपर्छ भन्ने निर्णय भएको छ,’ उनले भने, ‘विभागमा पनि विधानभन्दा बढी संख्या बढाउन नहुने र तरुण दल पनि एउटै मापदण्डका आधारमा गठन गर्न अडान राख्नुपर्ने निर्णय भएको छ ।’

अन्यभन्दा नेविसंघको भागबन्डाको विषय सहमतिका लागि पेचिलो बन्दै गएको छ । नेविसंघमा कति महामन्त्री राख्ने रु कुन पक्षले कति हैसियतको भागबन्डा पाउने भन्नेमा मुख्य विवाद छ । सहमति नजुटेमा पौडेल पक्षले नेविसंघको कार्यसमिति वर्तमान विधानअनुसारै गठन हुनुपर्ने अडान राख्ने भएको हो । एक वर्षअघि पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले ३२ वर्ष उमेरहद कायम गर्दै नेविसंघको विधान पारित गरेको छ । त्यही विधानविपरीत सभापति देउवाले ४५ वर्षभन्दा माथिका राजीव ढुंगानालाई अध्यक्ष बनाउन चाहेका छन् । उनले औपचारिक रूपमै ढुंगानाको नेतृत्वमा नेविसंघको तदर्थ समिति गठनको प्रस्ताव गर्दै आएका छन् । नेतृत्वमा पौडेल पक्षले सहमति जनाए पनि दोस्रो वरीयताको महामन्त्रीसहित चालीस प्रतिशतको हिस्सा खोजेको छ । त्यसमा देउवा तयार छैनन् ।

सिटौला पक्षसमेत विधानअनुसार नेविसंघ गठनको पक्षमा छ । पौडेल पक्षको सोमबारको बैठकमा सहभागी भएका केन्द्रीय सदस्यहरू गगन थापा र प्रदीप पौडेलले विधानविपरीत जान नहुने अडान राखेका थिए । ‘विधानको दायाँबायाँ गएर नेविसंघ र पार्टीका विभाग गठन गर्ने विषय हामीलाई मान्य छैन । विधानविपरीत नेविसंघ र विभाग गठन भए भने भोलिका दिनमा यस्ता धेरै घटना बढ्दै जानेछन्,’ पौडेलले भने, ‘संघमा ३२ वर्ष उमेरहद कायम गरिएको विधान नै कार्यान्वयनमा आउनुपर्छ ।’ देउवाले केन्द्रीय विभागको संख्या बढाउन प्रस्ताव गरेका छन् । त्यो पनि विधानविपरीत छ ।

कान्तिपुरबाट

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ३ : ३१ बजे