आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ।अमेरिकामाथि जित हासिल गरेसगै विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यो नै नेपालको पहिलो जित हो ।
१९१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा १५५ रन मात्रै बनाएपछि नेपालले ३५ रनले पराजित गरेको हो।
सुरुवातमै दबाबमा आएको अमेरिकाले १०।१ ओभरमा २७ रन बनाउँदा सुरुवाती पाँच विकेट गुमाएको थियो। एकपछि अर्को विकेट गुमाइरहे पनि अमेरिकाका इयन होल्यान्डले भने टिकेर रन बटुली रहे। उनले ७५ रन बनाए। ४०।४ ओभरमा उनलाई करणले आउट गरेपछि नेपालको जित सम्भव भएको हो। त्यस्तै, अमेरिकाका क्यामरन स्टेभनसनले १९ र करिमा गोर र रुस्टी थोरनले समान १०–१० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक नै बटुल्न सकेनन्।
नेपालका लागि करण केसीले चार, सुशान भारीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई र कुशल मल्लले एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा चार बल बाँकी छँदै सवै विकेट गुमाएर १९० रन बनाएको थियो ।
नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । भण्डारीले ५९ र मल्लले ५० रन बनाएका थिए ।










