काठमाडौं । सरकारले किताबमाथि लगाएको करविरूद्ध आन्दोलनमा उत्रेका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शुक्रबार सिंहदरबार पश्चिम गेटअगाडि प्रदर्शन गरिरहेका विद्यार्थीलाई पक्राउ गरेको हो।
किताबमाथि लगाएको करविरूद्ध आन्दोलनमा उत्रेका १५ जना विद्यार्थीले ब्यानर देखाउँदै ‘किताबमाथिको कर खारेज गर’ र ‘अर्थमन्त्री कहाँ छौ, हामी बहस गर्न तयार छौ’ भन्दै नारा लगाए थिए। नारा लगाउन थालेको करिब पाँच मिनेटपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनामनगर प्रहरी वृत्त लगेको छ।
सिंहदरबार पश्चिमगेटमा सरकारले प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ। करिब एक महिनाअघि पनि अधिकांश यिनै विद्यार्थीको समूह यहीँ आन्दोलन गरिरहेका थिए। शान्त रूपमा किताब पढेर प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।