पनौतीमा प्रसाशनले लगायो कर्फ्यू ,स्थिति नियन्त्रण बाहिर,



टिपरको ठक्करबाट सोमबार दिउँसो आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती बजार आज बिहानैदेखि तनाबग्रस्त बनेको छ ।

पनौती बसपार्कमा टिपरले ठक्कर दिएको ठक्करबाट खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएपछि आक्रोसित स्थानीय सोमबार दिउँसोदेखि नै प्रदर्शनमा उत्रिएका थिए ।

गाडी तोडफोडसहित जुलुसमा निस्किएपछि स्थानिय प्रसाशनले निषेधित क्षेत्र घोषणा गरेको हो ।जिल्लाको स्थिति नियन्त्रण बाहिर जाने देखेपछि प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ ।

पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कर्फ्यू आदेश जारी भएको कार्यालयले जनाएको छ ।

सोमबारको घटनालाई लिएर मंगलबार पनि परिस्थिति असहज बन्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

“परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यु आदेश जारी गरेका छौँ”, उनले भने ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।

बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार  ६ : ३७ बजे