मेडिकल काउन्सिलले लिने एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित



नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित गरेको छ। मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। आगामी ८ चैतमा परीक्षा गर्ने तयारीमा रहेको थियो।

काउन्सिलका प्रवक्ता डा कृष्णप्रसाद अधिकारीले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको जानकारी दिए। कोरोना भाइरसको संक्रमण देखिए पछि मात्रै आत्तिनु पर्ने अवस्था सिर्जना भइरहेकाले सचेत रहनका लागि परीक्षा सारिएको उनले बताए।

काउन्सिलले परीक्षा सञ्चालनका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग परामर्श बैठकसमेत गरेको थियो। विज्ञले स्थगित गर्दा सकारात्मक सन्देश जाने सुझाव दिएपछि परीक्षा रोकिएको हो।

यसपटकको लाइसेन्स परीक्षाका लागि १ हजार ६० जनाले आवेदन दिएको काउन्सिलले जनाएको छ।

प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार  ३ : २४ बजे