क्‍वारेन्टाइन बनाइन थालेपछी स्थानीय आक्रोशित



दाङको देउखुरीमा क्‍वारेन्टाइन बनाइन लागेपछी स्थानीयले त्यसको विरोध गरेका छन ।

लमही नगरपालिका ३ मा रहेको बाल जनता माध्यामिक विद्यालय वनगाउँमा कोरोना भाइरसका सम्भावित बिरामीलाई राख्‍न क्‍वारेन्टाइन बनाउने निर्णय भएको थियो । तर सरकारले गरेको उक्त निर्णयलाई वडा ३ का स्थानीयले अस्वीकार गर्दै विरोध गरेका हुन् । क्‍वारेन्टाइन बनाउने भनेर तोकिएको उक्त विद्यालयमा राख्‍न नहुने भन्दै गाउँदेखि टाढा व्यवस्थापन गरिनुपर्ने स्थानीय श्याम चौधरीले बताए ।

केही दिनअघि मात्र लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट कम्पनीमा मालवाहक ट्रक लिएर आएका पाँच भारतीयमध्ये गएराति दुई जना क्‍वारेन्टाइनबाट भागेका छन् । लमही नगरपालिकाले देउखुरी बहुमुखी क्याम्पस र बालजनता माध्यमिक विद्यालय वनगाउँमा क्‍वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले यस्तो विषम् परिस्थितिमा मानवीय व्यवहार देखाउन स्थानीयसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार  ८ : ३६ बजे