कोरोना भाइरसको संक्रमणका कारण रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ ।
जात्राको रथ निर्माणको काम आजदेखि हुँदै थियो । रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ ।
बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर शुक्रबारदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो । कोरोना भाइरसको महामारीका कारण सिर्जना भएको विषम परिस्थितिका कारण रथको जग राख्ने र निर्माण कार्य स्थगित भएको बताइएको छ ।
स्थगित भएको सो रथ निर्माणको काम लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर सुरु गरिने निर्णय भएको गुठी संस्थान र ज्यापु समाजले विज्ञप्तिमा जनाएको छ ।
लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ ।
बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ ।