सरकारले बिदेशमा अलपत्र नेपालिहरु स्वदेश फर्काउने तयारी थाल्यो



सरकारले विभिन्‍न मुलुकमा अलपत्र परेका नेपालिहरुलाई स्वदेश ल्याउने गृहकार्य सुरु गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

बैठकमा कुन कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत गरी पारित गरेको छ ।

कार्ययोजना अनुसार सम्बन्धित गन्तव्य मुलुक र राजदूतावाससँग समन्वय गरी तत्कालै गम्भीर समस्यामा रहेका २५ हजार नागरिक पहिलो चरणमा स्वदेश फर्काइने भएको छ ।

बैठकले तत्काल फर्किनुपर्ने नागरिकको पहिचान गर्न र सूची तयार गर्न १० दिनको समय तोकेको छ ।

परराष्ट्रमन्त्रालयले भारतसहित विभिन्‍न तेस्रो मुलुकमा रहेका र जरुरी कामले स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नागरिकको पहिचान गरी सूचीकरण गर्नेछ ।

बिदेशबाट फर्किएका नागरिकलाई दुई सातासम्म काठमाडौंमा क्वारेन्टिनमा राखिने र सातै प्रदेशका लागि फोकल पर्सन तोकिएका मन्त्रीहरुले सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर घरा पठाइने भएको छ ।

काठमाडौंमा होटल क्वारेन्टिनमा बस्न चाहनेले १४ दिनसम्म होटलमा बस्नुपर्नेछ ।

होटल क्वारेन्टिनमा बस्दा व्यक्ति आफैंले खर्च व्यहोर्नुपर्नेछ ।

उनीहरुले १४ दिन क्वारेन्टिनमा बिताएर कोरोना परीक्षणपछि मात्र घर जान पाउनेछन् ।

सार्वजनिक क्वारेन्टिनमा बस्ने ब्यबस्था पनि मिलाईने भएको छ ।

प्रकाशित मिति : जेष्ठ १६, २०७७ शुक्रबार  १२ : १९ बजे