नेविसंघद्वारा आयल निगम घेराउ : मूल्यवृद्धि तत्काल फिर्ता लिन माग



कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले  पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै राजधानिमा प्रदर्शन गरेको छ।

नेपाल आयल निगमले दश दिनका बीचमा दुई पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धि खारेज गर्न माग गर्दै नेविसंघले निगम घेराउ सहित प्रदर्शन गरेको हो।

नेविसंघ महामन्त्री दीपक भट्टराईका अनुसार कोरोना कहरका बीच निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकोले विरोध गरिएको हो।

चार दिनअघि मूल्यवृद्धि घटाउनुपर्ने माग राख्दै बुझाइएको ज्ञापनपत्रको सुनुवाइ नभएकाले आयल निगम घेराउ सहित धर्नामा बसेको महामन्त्री भट्टराईले जानकारी दिए ।

‘पेट्रोलियम पदार्थमा मात्र होइन सबै चिजमा मूल्य बढेकोले नेविसंघ सडकमा आएको हो,’ उनले भने, ।

अर्का महामन्त्री युवराज पाण्डेले कमिसन र भ्रष्टाचारमा डुबेको सरकारलाई सचेत गराउन दबाब दिना आयल निगम घेराउ गरिएको बताए ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता बचाउन लागेको तर जनताको समस्या नबुझेको बताए।

प्रदर्शनमा नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघ पदाधिकारी लगायत संघका नेताकार्यकर्ताहरुको उपस्थिती थियो ।

 

प्रकाशित मिति : असार २८, २०७७ आइतबार  ७ : ३० बजे