भिल्लेरियाललाई २–१ गोलअन्तरले पराजित गर्दै रियल म्याड्रिडले एक खेल बाँकी छँदा नै स्पेनिस ला लिगाको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।
खेलको २९ औँ मिनेटमा करिम बेन्जेमाले रियललाई अग्रता दिलाए भने दोस्रो हाफमा विवादास्पद पेनाल्टीबाट रियलको अग्रता दोब्बर बनाए । सर्जियो रामोशले पेनाल्टीबाट बेन्जेमालाई पास दिएपछि पेनाल्टीलाई पुनः प्रहार गर्न लगाइएको थियो । जसलाई बेन्जेमाले गोलमा परिणत गरेका थिए ।
खेलको अन्त्यतिर भिल्लेरियालका लागि भिन्सेटे इबोराले एक गोल फर्काए पनि रियललाई ३४ औँ लिग उपाधि जित्नबाट रोक्न सकेन । गत जुनमा ला लिगा पुनः सुरुवात गरेपछि जिनेदिन जिदानको टोलीले सबै १० खेल जितेको छ ।