मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मच्छिन्द्रनाथको रथारोहण आज



कोरोना भाइरसको जोखिम र लकडाउनका कारण रोकिएको रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज दिउँसो हुने भएको हो ।

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो ।

रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको छ । ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले रथारोहणको निर्णयबारे जानकारी दिए । उनले भने, “विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो । यसवर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन ।”

रथारोहणका लागि पुल्चोकमा ३२ हात लामो धःमा, बाराहीले आवश्यक सुनको झ्याल र रथमा चाहिने तोरन राख्ने काम सम्पन्न भएको छ। हाल करुणामयलाई पाटनको तःबहाल पाटीमा राखिएको छ ।

यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यस वर्ष कोभिड–१९ का कारण यही असार १० गतेदेखि बुँगद्यःको रथ निर्माणको काम अघि बढाएको पानेजु पूर्णराज शाक्यले बताए । मच्छिन्द्रनाथको रथयात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  २ : ५७ बजे