विश्वकप फाइनल प्रवेशका लागि आज पाकिस्तान र अस्ट्रेलिया भिड्दै



काठमाडौं- टी २० विश्वकपको फाइनल प्रवेशका लागि आज पाकिस्तान र अस्ट्रेलिया भिड्न लागेका छन्।

यूएईको दुबईमा राति ७ः४५ बजे पाकिस्तान र अस्ट्रेलियाबीच सेमिफाइनल हुनेछ। बुधबार भएको पहिलो सेमिफाइनलमा इग्ल्यान्डलाई पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा प्रवेश गरिसकेको छ।

अहिलेसम्मका खेलअनुसार, पाकिस्तान बलियो देखिएको छ। सुपर(१२ का पाँचै खेल जित्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो।

पाकिस्तानका सबै खेलाडी फर्ममा देखिएका छन्। पाँच खेलमा पाँज जना खेलाडी नै प्लेयर अफ द म्याच भएका छन्।

अस्ट्रेलिया भने सुपर(१२ का पाँच खेलमध्ये चार जित र एक हार ब्यहोर्दै सेमिफाइनलमा पुगेको हो। दक्षिण अफ्रिकासँग पराजित भए पनि रनरेटका आधारमा अस्ट्रेलियाको सेमिफाइनल यात्रा तय भएको थियो।

अहिलेसम्म पाकिस्तानसँग भएका विश्वकपका सबै नक(आउट खेल अस्ट्रेलियाले जितेको छ। सन् १९८७ को विश्वकप सेमिफाइनल, सन् १९९९ को विश्वकप फाइनल, सन् २०१० को टी(२० विश्वकप सेमिफाइनल र सन् २०१५ को विश्वकप क्वाटरफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको थियो।

पाकिस्तानले यूएईमा भएका पछिल्लो १६ वटा टी(२० अन्तर्राष्ट्रिय खेल जितेको छ। सन् २०१५ को नोभेम्बरमा भएको इग्ल्यान्डसको खेल मात्रै सुपर ओभरमा हारेको थियो।

आज जित्ने टोली टी(२० विश्वकपको उपाधिका लागि २८ कात्तिकमा न्यूजिल्यान्डसँग भिड्नेछ।

प्रकाशित मिति : कार्तिक २५, २०७८ बिहीबार  ५ : ०५ बजे