३ मङ्सिर चितवन। नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पु¥याउने गरी निमन्त्रणापत्र पठाएको हो । दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइएको छ । थप माग भएमा पठाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणापत्र वितरण सुरु गरिसकेको उहाँले बताउनुभयो । सुवेदीले भन्नुभयो, “पालिका, वडा र टोल कमिटी सक्रियरूपमा निमन्त्रणापत्र वितरण र प्रचार–प्रसारमा जुटेका छन् ।” प्रचारप्रसारका लागि स्थानीयस्तरमा विभिन्न कार्यक्रम भइरहेका छन् । उहाँले भन्नुभयो, “उद्घाटनसत्रमा सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणापत्र नै पठाउन लागिएको हो ।
उद्घाटन कार्यक्रममा एमाले कार्यकर्तामात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनबाट मात्रै उद्घाटनसत्रमा एक लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको छ ।
एमालेको १०औँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म यहाँ हुँदैछ । उद्घाटन कार्यक्रम नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहास्थित होटल सेभेन स्टार परिसरमा हुने तय गरिएको छ । उद्घाटनसत्र हुने नारायणी नदी किनारमा मञ्च र अन्य व्यवस्थापनको काम सुरु भइसकेको छ ।
यस्तै बन्दसत्र हुने सौराहाको होटल सेभेन स्टार परिसरमा समेत बन्दसत्र गर्ने हल निर्माणलगायत अन्य काम सुरु भइसकेको अध्यक्ष रावलले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिको आवासका लागि क्षेत्रीय होटल सङ्घ सौराहासँग तीन हजार ५०० बेड सम्झौता गरिसकिएको छ ।