कोरोनाको नयाँ भेरिएन्ट ओमाइक्रोन: अहिलेसम्मकै संक्रामक रहेको डब्लुएचओको निष्कर्ष



 

विश्व स्वास्थ्य संगठन डब्लुएचओले दक्षिण अफ्रिकामा संक्रमण पुष्टि भएको नयाँ कोरोनाभाइरसको प्रजातिलाई ओमाइक्रोन नाम दिएको छ । यसलाई डब्लुएचओले संक्रामक भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ ।गएराति आयोजित आपतकालिन पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुख डा। टेड्रोसले नयाँ भेरिएन्ट तीव्ररुपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुनेभन्दै सतर्क हुन आह्वान गरेका छन् । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा उक्त भेरिएन्टको कोरोना पुष्टि भएको डब्लुएचओले जनाएको छ । नेपालका लागि यो किन पनि जोखिमपूर्ण छ भने नेपालसँगको सीधा हवाइ उडान रहेको हङकङमा समेत यो भेरिएन्टको संक्रमण पुष्टि भएको छ ।

बोत्स्वाना, हङकङ, बेल्जियम र इजरायलमा समेत यो भेरिएन्टको संक्रमण पुष्टि भैसकेको छ । भारत, अमेरिका, बेलायतसहित केही युरोपेली मुलुकहरुले दक्षिण अफ्रिका र संक्रमण पुष्टि भएका मुलुकका उडानहरुमा रोक तथा कडाइ गरेका छन् । शुक्रबार दिउँसो अफ्रिकामा १।१।१।५२९ वैज्ञानिक नामको भेरिएन्ट पुष्टि भएको खबर बाहिरिएको थियो । दक्षिण अफ्रिकाका सबै ठाउँमा यो भाइरस फैलिएको बताइएको छ । तत्कालै डब्लुएचओले विज्ञप्ति जारी गर्दै भन्यो, ‘यो भेरिएन्टले ठूलो संख्यामा संक्रमण फैलाउन सक्छ । त्यसमध्ये केही अति संक्रामक मानिएको छ ।’

बेलायती स्वास्थ्य एजेन्सीले नयाँ भेरिएन्ट अहिले प्रयोगमा आएको कोभिड–१९ विरुद्ध कम प्रभावकारी हुने समेत बताएको छ । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जेम्स नैसमिथले भने, ‘यो खराब समाचार हो तर, अत्यन्तै खराब चाहिँ होइन ।’ उनले तीव्ररुपमा फैलिने क्षमता यो भेरिएन्टमा रहेको बताए । अहिलेसम्म दक्षिण अफ्रिकाका २४ प्रतिशत जनसंख्यालाई मात्र खोप लगाइएको छ ।

जापानले शनिबारदेखि लागू हुने गरी अफ्रिकी मुलुकबाट त्यहाँ जाने यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने नियम ल्याएको छ । सो अवधिसम्म चारपटक कोरोना परीक्षण गर्नुपर्ने पनि भनिएको छ । भारतले दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुलाई कडाइपूर्वक परीक्षण गर्न भनेको छ । इरानले पनि दक्षिण अफ्रिकाका ६ मुलुकबाट हुने उडानमा रोक लगाएको छ । ब्राजिलले पनि अफ्रिकाका ६ मुलुकबाट हुने उडानमा रोक लगाएको छ । अष्ट्रेलियाले नौ वटा अफ्रिकी मुलुकबाट हुने उडानलाई १४ दिनसम्म प्रतिबन्ध लगाउने घोषणा गरेको छ । भेरिएन्ट अफ कन्सर्नलाई डब्लुएचओले अत्यन्त खतरनाक र संक्रामक सूचीमा राखेको छ ।

प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार  १२ : ३६ बजे