मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीमा कसैको आएन ५१ प्रतिशत मत, सभापतिको लागि बानियाँ र केसीबीच फेरी रोचक प्रतिस्पर्धा हुने



बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन् ।२ हजार ८३ जना प्रतिनिधिले मतदान गरेकोमा बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् । राति मत गणना गरेर सकिएपछि बढी मत ल्याए पनि सभापति पदका लागि बानियाँलाई यो मत पर्याप्त भने होइन ।

मत परिणामअनुसार सभापतिका अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७७ मत पाए भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरे । बानियाँसहित तीनै जना सभापतिका उम्मेद्वारले पार्टीको विधानअनुसार ५१ प्रतिशत मत प्राप्त नगरेकाले फेरि मतदान गर्नुपर्ने भएको छ । सभापति हुनका लागि आवश्यक मत कसैको पनि हुन नसकेकाले अब फेरि आज सभापति पदमा चुनाव हुने भएको छ । बढी मत पाएका बानियाको पनि कुल मतको ४८ प्रतिशत मात्र मत हुन आउँछ ।

निर्वाचन समितिकाअनुसार चुनावमा १० मत बदर भएको छ भने १२ जनाले मतदान नै गरेनन् ।राति मतगणना भएदेखि नै बानियाँले अन्य दुई उम्मेद्वारलाई उछिन्दै आइरहेका थिए ।यसअघि नेपाली कांग्रेस १३औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच प्रतिस्पर्धा हुँदा ५१ प्रतिशत नतिजा ल्याउन नसक्दा दोहोर्‍याएर चुनाव गर्नुपरेको थियो । दोस्रो राउण्डको मतदानमा देउवा सभापति निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : १६ बजे