मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित,केन्द्रीय महाधिवेशनपछि मात्रै हुने



नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने भएको छ । आज जनकपुरमा पत्रकार सम्मेलन गर्दै प्रदेश २ को अधिवेशन गर्नका लागि संयोजक तोकिएका रमेश रिजालले तत्काललाई प्रदेश अधिवेशन स्थगित गरिएको जानकारी दिए ।

रिजालले महाधिवेशनपछि तत्कालै प्रदेश कार्यसमितिको निर्वाचन हुने बताए । ‘परिस्थिति काबु भन्दा बाहिर देखिएकाले हाललाई सर्वसम्मतिले स्थगित गर्ने निर्णय गरेका छौं । र छिट्टै महाधिवेशनपछि तुरुन्त कार्यक्रम अगाडि बढाउने छौं ।’

उनले अगाडि भने, ‘आठ वटा निर्वाचन क्षेत्रको निर्वाचन हुन नसक्नु काबु भन्दा बाहिर हो । निर्वाचनले गर्दा मान्छेहरु भेला हुने भएकाले पनि सम्भव छैन । अरु कारणले हैन । पार्टीले मलाई खटाएको छ । निर्वाचन अधिकृतहरु पनि खटिनु भएको छ । धार्मिक परिस्थितिले पनि अहिले सम्भव नभएको हो ।’

केन्द्रीय महाविधेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा शुरु हुँदैछ । सातमध्ये ६ प्रदेशले नेतृत्वसमेत पाइसकेको छ । अब प्रदेश २ मात्र बाँकी रहेको छ । संयोजक रिजालले अहिलेलाई प्रदेश २ को अधिवेशन सम्भव नभएको बताए ।

भोटर लिष्ट समयमै केन्द्रले नपठाएका कारण पनि अधिवेशन हुन नसकेको हो । केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार हिजो मात्रै भोटर लिष्ट प्रदेश २ मा पठाइएको थियो । यसका आधारमा प्रदेश २ को कार्यसमितिको निर्वाचन हुन सक्ने थियो । तर समय अभावका कारण त्यो सम्भव हुन सकेन ।

प्रदेश २ का निर्वाचन अधिकृत प्रह्लाद गौतमले रौतहटको मात्र नामावली केन्द्रले पठाएको जानकारी दिए । उनका अनुसार सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन नभएकाले प्रदेश प्रतिनिधिको नामावली नभएकाले चुनाव गराउन अप्ठेरो भएको हो । सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नं ४ र रौतहटको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन ।

खासमा यसअघि नै जनकपुरधाममा रामजानकी विवाह महोत्सव प्रारम्भ भइसकेको र पार्टीको महाधिवेशनको मूल समारोह २२ मंसिरमा रहेकाले प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि नै धकेलिने अनुमान गरिएको थियो ।

त्यसो त अहिलेसम्म चुनावका लागि उम्मेदवारीको ठूलो क्याम्पेन पनि हुन सकेन । र पनि आकांक्षीहरुले उम्मेदवारी भने घोषणा गरेका छन् ।प्रदेश सभापतिका लागि रौतहटका कृष्णा यादव र प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रदेश २ का जिल्लाहरु मध्ये सबैभन्दा बढी सर्लाहीमा पटक पटक समस्या हुँदै आएको छ । झडप पनि भएको छ । गोली पनि चलेको छ । तर अन्य जिल्लाको हकमा चर्को विवाद देखिएको छैन ।प्रदेश २ का सबैसहित १६ जिल्लाको अधिवेशन हुन सकेको छैन । ती जिल्लामा महाधिवेशनपछि अधिवेशन हुनेछ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १२ : ३४ बजे