प्रदेश १ मा मतदान गर्दै माओवादी केन्द्र: नेतृत्वमा जुटेन सहमति



नेकपा माओवादी केन्द्रले प्रदेश १ को नेतृत्व मतदानबाट टुंग्याउने तयारी गरेको छ। अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि मतदान गर्ने तयारी गरिएको केन्द्रले जनाएको छ।पदाधिकारीमा सहमति हुन नसकेपछि यसअघि २ सय ५९ प्रदेश सदस्यमात्रै चयन गरिएको थियो। उनीहरुको सपथसमेत भइसकेको छ।

आज प्रदेश समितिको बैठक बस्दै छ। अहिले प्रदेश समितिका सदस्यबीच सर्वसम्मत नेतृत्व चयन गर्न छलफल जारी रहेको एक नेताले बताए। सर्वसम्मत नभए आजै मतदानको प्रक्रियामा जाने ती नेताको भनाइ छ।प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यले छोडेपछि प्रदेश समितिमा रहेका नेताहरुले दाबी गरेका छन्।

प्रदेश अध्यक्षका हर्कबहादुर लावती, शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ र मोहनकुमार खत्रीलगायत दाबेदार छन्।यस्तै अन्य ८ पदाधिकारीमा पनि धेरै नेताहरुले दाबी गरेकाले सर्वसम्मत हुने सम्भावना कम देखिएको ती नेताले बताए। प्रदेशका ९ पदाधिकारीका लागि ४० जना भन्दा धेरै दाबेदार देखिएका छन्।

प्रकाशित मिति : पुस ७, २०७८ बुधबार  १२ : ५० बजे