ह्यारी भण्डारीलाई विद्यावारिधि,नेपाली राष्ट्रिय पोशाकमा पुगेर गरे उपाधि ग्रहण



अमेरिकाको मूलधारको राजनीतिमा सक्रिय नेपाली मूलका पहिलो डेलिगेट ह्यारी भण्डारीले युनिभर्सिटी अफ मेरिल्याण्डबाट विद्यावारिधि गरेका छन् । मङ्गलबार विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा भण्डारीलाई विद्यावारिधिको उपाधि प्रदान गरेको हो । आफनो जन्मभूमिप्रतिको सम्मान प्रकट गर्न भण्डारीले नेपाली राष्ट्रिय पोशाकमा उपस्थित भएर उपाधि ग्रहण गरे ।

अमेरिकाको मेरिल्याण्ड राज्यको संसद्मा डेमोक्रयाट पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने ह्यारी राज्यसभामा रहेका डेलिगेटहरुमा थोरै विद्यावारिधि गर्नेमध्ये एक भएको बताउँदै उनले आफ्नो समुदायसँग सम्बन्धित विषयमा अनुसन्धान गरी अमेरिकी प्राज्ञिक क्षेत्र र आफ्नो समुदायप्रति ठूलो गुन लगाएको प्रेसिडेन्ट ह्रयास्बोस्की टिप्पणी गरेका थिए । अमेरिकाको प्राज्ञिक क्षेत्रकै एक सम्मानित व्यक्तित्वका रूपमा ह्रयास्बोस्कीको परिचय रहेको छ ।

दीक्षान्त समारोहपछि संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले भने, “एक आप्रवासीका रूपमा सजाएको एउटा ठूलो सपनालाई विपनामा परिणत गर्न पाउँदा हर्षको अनुभूति भएको छ ।” भण्डारीले अमेरिकामा नेपाली अमेरिकीहरुको राजनैतिक सहभागिता र भाषिक समावेशीकरणको विषयमा शोध गरेका थिए ।

नेपालको पर्वत जिल्लाको शङ्करपोखरीमा जन्मिएका भण्डारीले आफ्नो सुरूआती शिक्षा आफ्नै हजुरबुबाले गाउँमा स्थापना गरेको सरकारी विद्यालयबाट सुरू गरेका थिए । भण्डारीले गाउँमै माध्यमिक शिक्षा पूरा गरेर उच्च शिक्षाका लागि पोखरा र पछि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरेका थिए ।

प्रकाशित मिति : पुस ७, २०७८ बुधबार  ७ : ५३ बजे