यसअघिको खेल तालिका अनुसार नेपालको पहिलो खेल उज्वेकिस्तानसँग थियो । तर बिहीबार पुनः जारी भएको तालिका अनुसार नेपालले आयोजक बंगलादेशसँग खेल्न लागेको हो । आज नै हुने महिलातर्फको खेलमा नेपाली महिला टोलीले पहिलो जितको खोजीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान सवा ११ मा हुनेछ ।
साविक विजेता महिला टोलीले १३औँ दक्षिण एसियायी खेलकुद (साग) मा श्रीलंकालाई सोझो सेटमा हराएको थियो । पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका तथा महिलातर्फ आयोजक बंगलादेश, नेपाल, उज्वेकिस्तान, कीर्गिस्तान र श्रीलंका सहभागी छन् । राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।










