गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताउनुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएर मानिसको जीवन लम्ब्याउने सन्दर्भमा बिरामीलाई पुर्नजीवन दिनेक्रममा आश्चर्यजनक उपलब्धि हासिल भए पनि गरिबीको सङ्ख्या भने बढ्दै गएको बताउनुभयो ।
बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अस्पतालको नवौँ स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा उहाँले नागरिकले जीवन लम्ब्याउन उपचार गर्दा भएको सम्पत्ति सबै बिक्री गरेर भए पनि निजी अस्पतालमा उपचार गर्न बाध्य हुनुपरेको बताउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रको विकासमा यो आशालाग्दो र त्यही आशाभित्र कहाली लाग्दो अवस्था रहेको जनाउँदै यसका लागि निजी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी बन्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको राज्य प्रणाली पनि हरेक क्षेत्रको निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले विसं २०४६ को बहुदलीय व्यवस्था स्थापनासँगै जुनसुकै पार्टीको सरकार भए पनि मुलुकमा उदारवादी अर्थनीति अवलम्बन भएको र यो उदारवादी अर्थनीतिको विकल्प दिन नसकिएको बताउनुभयो ।
गृहमन्त्री खाँणले जनताले चाहेको जस्तो मुलुकको आधुनिकीकरणका लागि बहुआयामिक दायित्व पूरा गर्न सरकारले मात्र नसक्ने भएकाले जनतासँग रहेको साधन, स्रोत, सम्पत्ति, ज्ञान समाज र मुलुकको विकासका लागि प्रयोग गर्न जरुरी रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो विश्वको नयाँ ट्रेन र बाध्यता पनि हो ।”
उहाँले सरकारले निजी क्षेत्रको प्रवद्र्धनसँगै गैर मुनाफायुक्त संस्थालाई पनि सरकारले स्थापित गर्न, हुर्काउन र बचाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बुटबल आफ्नै ईतिहास र बलबुताले अहिलेको अवस्थामा स्थापित भएको भन्दै प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक नपर्ने र सबैको साझा प्रयत्नबाट अब्बल बनाउन सकिएको बताउनुभयो । गृहमन्त्री खाँणले गौतमबुद्ध सामूदायिक अस्पतालका लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद् रहेको उल्लेख गर्दै आफूले सरकारकातर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले विकासको गतिलाई कसरी अगाडि बढाउने भन्ने विषय सबै जनप्रतिनिधिको मूल दायित्व रहेको बताउनुभयो । अर्का प्रदेशसभा सदस्य विष्णु पन्थीले कतिपय सरकारी नियम र कार्यविधि नै विकासका बाधक बन्ने गरेकाले सरकारले त्यस्ता नीतिनियम र कार्यविधि परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।
अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई वर्षभित्र ८०० श्ययाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न आफूहरु तयार रहेकाले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्रीसामु आग्रह गर्नुभयो ।रुपन्देही उद्योग सङ्घको संरक्षकत्वमा २०७० साल पुस १० गतेदेखि सेवा सञ्चालन गरेको सो अस्पतालले एक वर्षको अवधिमा ओपिडी, इमर्जेन्सी र भर्ना गरी ४८ हजार ७२२ जना बिरामीलाई उपचार सेवा उपलब्ध गराएको छ ।
अध्यक्ष आलमले रकमको अभावमा अस्पताल आएका बिरामी उपचार सेवा लिनबाट वञ्चित हुने अवस्था आउन नदिने जनाउँदै एक वर्षको अवधिमा अस्पतालका तर्फबाट रु साढे ६७ लाख र विभिन्न दाताको सहयोगमा रु १० लाखभन्दा बढी छुट उपलब्ध गराइएको जानकारी दिनुभयो । अस्पतालले हाल बुटवलबाट २४५, दाङको लमहीबाट ६८ र पाल्पाबाट ३१ गरी ३४४ जना मिर्गौलाका बिरामीलाई नियमित डायलायसिस सेवा दिँदै आएको जनाएको छ । त्यसैगरी एक वर्षको अवधिमा एञ्जियोप्लास्टी १११, एञ्जियोग्राफी ३१३ र ९१ जनाले पेसमेकर सेवा लिएको अस्पतालका निर्देशक डा समीर गौतमले जानकारी दिनुभयो ।










