मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश राजधानी नहुँदैमा विकासमा फरक पर्दैनः गृहमन्त्री खाँण



गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश राजधानी नहुँदैमा बुटवलको विकासमा फरक नपर्ने बताएका छन् । बुटवलले विकासमा फड्को मारिसकेको र यो आफ्नै बलबुतामा सम्भव भएको भन्दै उनले राजधानी नरहने पनि लुम्बिनी प्रदेशको विकासको केन्द्र बुटवल नै हुने बताए ।

गौतमबुद्ध सामुदायीक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले बुटवललाई अहिलेको अवस्थामा ल्याइपु¥याउन सबैको साझा प्रयास रहेको बताए । रुपन्देहीको विकासका लागि आफूले धेरै प्रयास गरे पनि जस भने लिन नपाएकोमा उनले दुःखेसो पोखे । ‘विकासका लागि मैले धेरै प्रयास गरे, तर जस लिन पाइन र लिने प्रयास पनि गरिन,’ उनले भने । गृहमन्त्री खाँणले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको, प्रविधिको प्रयोग बढ्दै गएको पनि बताए । स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रिए पनि न्युन आर्थिक अवस्था भएकाले यसको प्रयोग गर्न नसक्नु चुनौती बनेको बताए ।

सरकारी अस्पतालको व्यवस्थापन सुधार नहुँदा सर्वसाधारणले निजी अस्पतालमा महंगो उपचार सेवा लिनु परिरहेको भन्दै गृहमन्त्री खाँणले सरकारी अस्पतालको क्षमता विस्तारसँगै स्तरोन्नतीका लागि सरकारले काम गरिरहेको प्रष्टाए ।उनले तिलोत्तमा नगरपालिकामा गौतमबुद्ध सामुदायिक अस्पतालको लागि प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद रहेको उल्लेख गर्दै आफुले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने विश्वास दिलाए ।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई बर्षभित्र आठ सय बेडको सुबिधासम्पन्न अस्पताल निर्माण गर्न तयार रहेको बताए । रुपन्देही उद्योग संघको संरक्षकत्वमा १० पुस ०७० बाट संचालन गरेको अस्पतालले एक बर्षमा पिडी, इमर्जेन्सी र भर्ना गरी ४८ हजार सात सय २२ जनालाई उपचार सेवा उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  २ : २० बजे