पश्चिमी वायुको प्रभावले वर्षा हुँदा चिसो बढेसँगै प्रभावित भएको प्रदेश नं. २ को जनजीवन आज बिहानबाट घाम लागेसँगै सामान्य बन्दै गएको छ । तीन साता लामो कठ्याङ्ग्रिदो जाडोपछि महोत्तरीलगायत प्रदेश नं २ का अधिकांश जिल्लामा घाम लागेपछि जनजीवन सामान्य हुँदै गएको हो । पुस महिना लागेदेखि नै जिल्लामा कठ्याङ्ग्रिदो जाडोले मानिस, वस्तुभाउ, पशुपक्षी र बालीनाली सबै प्रभावित भएकामा आज बिहानदेखि प्रदेश नं २ का अधिकांश जिल्लामा घाम लागेपछि यस क्षेत्रको जनजीवन सामान्य हुँदै गएको छ ।
बाक्लो हुस्सु, शीतलहर र निरन्तर बहने चिसो हावाले जनजीवन निकै कष्टकर बनेर वाक्कदिक्क भएका महोत्तरीसहित प्रदेश नं २ का बासिन्दा बल्ल सामान्य जीवनमा फर्कँदैछन् । यस क्षेत्रमा घाम झुल्किएपछि मानिस, वस्तुभाउ, पशुपक्षी र बालीनाली सबैलाई राहत मिलेको छ । बिगत तिन साताको कठ्याङ्ग्रिदो जाडोले प्रभावित बनेको प्रदेश नं २ को जनजीवन घाम लागेपछि यहाँका बासिन्दा हर्षित भएका छन् ।
पछिल्लोपटक मौसममा सुधार हुनासाथ करिब तीन साता घरमै कँुजिएका महोत्तरीसहित प्रदेश नं २ का बासिन्दालाई बिहीबारयता घाम लागेपछि बल्ल बाहिरी काममा लाग्ने अनुकूलता भएको छ । “बल्ल दुई दिनदेखि मौसम उघ्रेको छ, हामी त घरमै कुँजिएका थियौँ”, जलेश्वर नगरपालिकाका सञ्जय साहले भन्नुभयो, “दुई दिनदेखि निरन्तर घाम लागेपछि अहिले घरघरबाट निस्केर स्थानीय वृद्धवृद्धा, बालबालिका तथा वयस्कहरु समेतले आ–आफ्नो जीउ न्यानो पार्न थालेका छन् ।” त्यस्तै, गृहणी पनि घाम लागेपछि सातादेखिको फोहोर र मैलो भएका लुगाफाटाहरु धोएर सुकाउने जोरजाम गरिरहेका देखिन्छन् । लागातारको जाडोबाट ग्रसित भएका जिल्लाका गाई, भैँसी, बाख्राबाख्रीलगायत वस्तुभाउहरुलाई पनि किसानले घाममा राखेर न्यानो बनाउनमा व्यस्त देखिएका छन् ।
तीन सातादेखि जाडोकै कारण कामकाज छोडी घरभित्रै सीमित भएका जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका किसान पनि अहिले आ–आफ्ना खेतबारीमा पुगेका छन् । त्यस्तै, घाम लागेपछि जिल्लाको हाटबजारमा पनि मानिसहरुको चहलपहल बढेको छ भने यातायातका साधनहरु पनि बाक्लै रुपमा गुड्न थालेको देखिएको छ । मुख्य रुपमा कठ्याङ्ग्रिदो जाडोबाट बालबालिका, वृद्धवृद्धा, गरिब, असहाय, मागीखाने र सडकमा रात बिताउनेहरु प्रभावित भएकामा उनीहरुलाई पारिलो घामले निकै खुसी तुल्याएको छ भने अन्य सर्वसाधारण जिल्लावासी पनि खुसी भएका छन् ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ मा नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाको बजराही उपशाखाले आज १०० परिवारलाई कम्बल वितरण गरेको छ । पुस महिनाको सुुरुवातदेखि नै बढेको चिसो र शीतलहरका कारण जाडोबाट प्रभावित भएका जलेश्वर नपा–८ अन्तर्गतका बजराही, रमौल र रतवाराका १०० परिवारलाई प्रतिपरिवार एक÷एकवटा कम्बल वितरण गरेको नेपाल रेडक्रस सोसाइटी महोत्तरीले जनाएको छ ।
सोसाइटी कोषाध्यक्ष विजयकुमार गुप्ता, जिल्ला कार्यसमिति सदस्य अवधेश ठाकुर, बद्रीनारायण झा, स्वयंसेवक दिलीप मिश्र, स्थानीय विपेन्द्र पाण्डेसहितको उपस्थितिमा वडा नं ८ का १०० परिवारलाई कम्बल वितरण गरिएको हो । कम्बल प्राप्त गरेपछि उनीहरु निकै खुसी देखिएका छन् ।










