मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अल्मुताइरीको फेरि घुर्की, भन्छन्- लिगको खेल रंगशाला गएर हेर्दिनँ’



नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल रंगशालामा गएर नहेर्ने बताएका छन् ।शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले जारी शीर्ष डिभिजन लिगका खेल मैदान गएर नहर्ने र टेलिभिजनबाटै हेर्ने प्रतिक्रिया दिएका हुन् ।

पछिल्लो समय लिग खेलिरहेका खेलाडीलाई होटलमा बोलाएर १५ र १८ माघमा दशरथ रंगशालामा हुने मौरिससँगको खेलमा खेलाडीलाई ‘विभिन्न होमवर्क’ दिएको विषय बाहिर आउनु र क्लबले समेत अखिल नेपाल फुटबल संघ ९एन्फा० मा पत्र काटेपछि कुवेती नागरिक अब्दुल्लाहले सामाजिक सञ्जालमा आक्रोश ब्यक्त गरेका हुन् ।

उनले खेलाडीलाई मौरिसससँगको खेलमा कुनै दबाब नदिएको बताएका छन् । ‘मैले कहिल्यै पनि खेलाडीलाई लिगको खेलमा १०० प्रतिशत दिएर नखेल्नु भनेको छैन । मलाई विश्वास छ, क्लबमा १०० प्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि १०० प्रतिशत दिँदैन,’ उनले खेलेका छन् ।यसअघि अब्दुल्लाहले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग ३४ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए । जसमा सात खेलाडीले पहिलोपटक मौका पाएका छन् ।

अब्दुल्लाहले यसै हप्ता खेलाडीलाई आफू बसेको ठमेलको एक होटलमा बोलाए मौरिसससँग खेलमा खेलाडीलाई विभिन्न ‘होकवर्क’ दिएको र लिगमा बचेर खेल्न बताएको एक क्लबका प्रशिक्षकले बताए ।

‘क्लब र प्रशिक्षकलाई उहाँले थाहै नदिई खेलाडीलाई भेट्नु भएछ । उहाँले मौसिसससँग खेल्नुअघि खेलाडीलाई ‘होमवर्क’ दिने, बचेर खेल भने, यस्तो गर्नुभएको रहेछ,’ नाम नबताउने सर्तमा एक शीर्ष क्लबका प्रशिक्षकले भने ।

‘लिग चलिरहेको छ । उनले खेलाडीलाई बचेर खेल भन्नेबित्तिकै खेलाडी चोट छ बनेर बसिरहेका छन् । यसरी भेट्न पनि हुन्न थियो । क्लबले यत्रो लगानी गरेको छ । अझ नवौं चरणपछि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुपर्ने थियो, त्यो नहुँदा हामीलाई गाह्रो भयो । खेलाडीले पनि लिग र राष्ट्रिय टोली दुवैको दबाब लिए,’ उनले भने ।

यससँगै जारी लिगमा साँतौ चरणबाटै शीर्षस्थानमा रही एएफसी कपमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र क्लबले प्रशिक्षकको यो हर्कतसँगै एन्फालाई पत्र नै काटेको छ ।

जारी लिगको नवौं चरण आजबाट सुरु हुँदैछ । सोमबारसम्म चल्ने यस चरणको खेलपछि लिगका खेलले विश्राम पाउनेछ र नेपाली टोली मौरिसससँग हुने खेल तयारीमा लाग्नेछन् भने यही समयमा मोफसलमा विभिन्न प्रतियागिता रहने तालिका छ ।

प्रशिक्षक अब्दुल्लाह भने लिग र क्लब नै फुटबल विकासको मुख्य आधार भएको र आफूले खेलाडीलाई नखेल भन्न नसक्ने बताउँछन् ।

‘मलाई विश्वास छ, क्लब र लिग नै फुटबल विकासको मुख्य आधार हो । त्यसकारण मैले कसरी खेलाडीलाई १०० प्रतिशत दिएर नखेल भन्न सक्छु,’ उनले लेखेका छन् । यस्तै उनले आफ्नो उपस्थितिले खेलाडी र क्लबलाई दबाब सिर्जना भएको हो भने मैदान नगई लिग हेर्ने बताए ।

‘मेरो उपस्थितिले खेलाडी तथा क्लबलाई दबाब सिर्जना भएको हो भने मसँग समस्या समाधानको एक उपाय छ । म टेलिभिजनमा लिगका खेल हेर्छु । सबै क्लब र खेलाडीहरूलाई लिगका लागि शुभकामना,’ छैटौं चरण समाप्तिपछि नेपाल आएका अब्दुल्लाहले भनेका छन् ।

यसो त प्रशिक्षक अब्दुल्लाहको यो घुर्की हर्कत पहिलो हैन । उनले नेपाल आएदेखि नै यस्ता आचरण देखाउँदै आएका छन् ।

एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गरी उनकै कारण आफूले एन्फामा राजीनामा दिन गएको बताएका अब्दुल्लाहले धेरैपटक राजीनामाको घुर्की देखाएका छन् । नेपाल पहिलोपटक साफ फुटबलको इतिहासमा २८ वर्षपछि फाइनल पुग्दासमेत अब्दुल्लाहले आफू नेपाली टोलीमा नरहने घुर्की देखाएका थिए । यद्यपि उनले सन् २०२२ सम्म सम्झौता नवीकरण गरेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ४ : ४७ बजे