मस्कोले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले जनाएको छ।
युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका कति लडाकु भर्ती हुन तयार भएका छन् भन्नेबारे बताउन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन्।तर उनीहरूका अनुसार कतिपय भाडाका लडाकु रुस पुगिसकेका छन् र युक्रेनमा खटिने तयारीमा छन्।
यसैबिच रुसी फौजको निरन्तर गोलाबारीबीच युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फसिरहँदा मानवीय सङ्कट गहिरिँदै छ।फसेका मानिसहरू हातमुख जोड्न नसक्ने वा भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ।
आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजेकै केही सर्वसाधारण रुसी गोलाबारीमा मारिएका विवरणबीच ज्यान गुमाउने सर्वसाधारणको सङ्ख्या बढ्दै गएको छ।










