अमेरिकाले लगायो रुसी इन्धनमा प्रतिबन्ध ,



अमेरिकाले रुसी इन्धन माथि प्रतिबन्ध लगाउने र फेज आउट गर्ने घोषणा गरेको छ।बेलायतले पनि रुसी तेलमा प्रतिबन्ध लगाउँदै छ भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले “रुसको अर्थतन्त्रको मुख्य धमनी”लाई नै प्रहार गर्ने बताएका छन्।ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ।रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ।यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो।

यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्।म्याकडोनल्डस् र कोका-कोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन्।

पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा “विध्वंसक” नतिजा ल्याउने चेतावनी दिएको थियो।उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ।

द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ।।

प्रकाशित मिति : फाल्गुन २५, २०७८ बुधबार  ८ : २८ बजे