युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुन: नेटोलाई उनको देशको आकाशमाथि उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आह्वान गरेका छन्।उनले अब रुसले केही समयमै उक्त पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताए।
युक्रेनको पोल्यान्डसँगको सिमाना क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा ३५ जनाको ज्यान गएपछि जेलेन्स्कीले उक्त टिप्पणी गरेका हुन्।पोल्यान्ड नेटो सदस्य राष्ट्र हो।
साथै जेलेन्स्कीले आफूले युरोपेली परिषद् अध्यक्ष चार्ल्स मिसेलसँग कुरा गरेको र अब युक्रेन ईयूको सदस्य हुने विषय वास्तविकता हुन लागेको पनि बताए।राष्ट्रपति जेलेन्स्कीले युक्रेनी तथा रुसी प्रतिनिधिहरूबीच जारी वार्तालाई जटिल तथा कठिन तर शान्तिसुरक्षाका निम्ति आवश्यक बताएका छन्।
उनले युक्रेनी अधिकारीहरू दुई देशका नेताबीच प्रत्यक्ष शान्तिवार्ताका निम्ति प्रयत्नरत रहेको बताए।जुन वार्ता मानिसहरूले पर्खिरहेको पनि उनले बताए।दुई पक्षबीचको थप कुराकानी सोमवार भिडिओ लिङ्कमार्फत् हुने बताइएको छ।
आइतवार दुई पक्षका वार्ताकारहरूले सतर्कतापूर्ण आशा प्रकट गरेका थिए।यसबीच फ्रान्सका विदेशमन्त्री जाँ यिभ ल द्रियाँले एक फ्रेन्च रेडियोसँग कुरा गर्दै युक्रेनको लडाइँ लामो हुने भन्दै सबभन्दा खराब चरण आउनै बाँकी रहेको सम्भावना व्यक्त गरेका छन्।










