गण्डकी प्रदेशमा दर्जनभन्दा बढी स्थानीय तहमा पुरानै उम्मेदवार दोहोरिएका छन् । तल्ला पदमा भन्दा माथिल्ला पदमा रहेकाहरू धेरै दोहोरिएका छन् ।एमालेबाट २८ जना दोहोरिएका छन् भने दुई जना उपप्रमुखबाट प्रमुखमा स्तरोन्नति भएका छन् । यसबाहेक अघिल्लो पटक उम्मेदवार बनेर पराजित भएकाहरू पनि अहिले पुनः उम्मेदवार बनेका छन् ।
एमालेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्रको उपाध्यक्षमा ढिकी गुरुङलाई दोहोर्याएको छ भने लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट पनि दोहोरिएका छन् । मनाङको चामेमा लोकेन्द्र घले र मनाङ ङिस्याङको अध्यक्षमा कान्छा घले दोहोरिएका छन् ।
लमजुङबाट मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, राइनासको मेयर सिंहबहादुर थापा दोहोरिए । स्याङ्जाको फेदीखोलामा घनश्याम सुवेदी अध्यक्षमा दोहोरिएका छन् भने पुतलीबजारको मेयरमा सीमा क्षेत्री र उपमेयरमा महेश पुरी, कालीगण्डकी गाउँपालिका अध्यक्षमा खिमबहादुर थापा र उपाध्यक्ष सावित्रा कोइराला, गल्याङको उपमेयरमा देविसरा थापा र हरिनासको अध्यक्षमा खिमनारायण मानन्धरलाई पुनः टिकट दिएको छ । अर्जुनचौपारीकी बहालवाला उपाध्यक्ष चिनमाया गुरुङलाई अध्यक्षमा उठाइएको छ ।
तनहुँको भीमाद नगरपालिका उपप्रमुख शारदा खनाल र देवघाटका अध्यक्ष दुर्गाबहादुर थापा दोहोरिए । कास्कीको रुपामा अध्यक्ष र उपाध्यक्ष दुवै एउटै पदमा उठेका छन् । नवराज ओझा र लालसुब्बा गुरुङलाई दोहोर्याएको एमालेले जनाएको छ ।
यस्तै, पोखरा महानगरको उपमेयरमा मन्जुदेवी गुरुङनै उठेकी छिन् । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि थमसरा पुन र मंगला गाउँपालिका अध्यक्षमा सतप्रसाद रोका उठेका छन् ।
नवलपुरको गैंडाकोट नगरपालिकामा छत्रराज पोडेल र देवचुली नगरपालिका उपप्रमुखमा पार्वता तिवारी दोहोरिए । पर्वतको फलेबासमा दुवै जना पुरानै अनुहार आएका छन् । पदमपाणि शर्मा मेयर र मन्जु अधिकारी उपमेयरको टिकट पाए । बागलुङमा ढोरपाटनका मेयर देवकुमार नेपाली र उपमेयर करमती पुन तथा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल दोहोरिएका हुन् ।