अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छिन् । उनी मंगलबार राति स्थानीय समय अनुसार करिब ११ बजे अमेरिकी सेनाको विमानमा ताइवान पुगेकी हुन् ।चीनले उनलाई ताइवान भ्रमण नगर्न बारम्बार चेतावनी दिदाँ दिंदै पनि उनी ताइवान पुगेकी हुन् । ताइवान पुग्नुअघि मलेसिया पुगेकि उनको ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका– बेइजिङ तनाव बढाएको छ । सभामुख पेलोसी २५ वर्षभन्दा बढी समयपछि त्यहाँको भ्रमण गर्ने उहाँ उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी हुन् ।
सभामुख पेलोसीको भ्रमणलाई बहानाको रूपमा प्रयोग गरेर बेइजिङले ताइवान वा ताइवान टापु वरपर क्षेप्यास्त्र प्रहार गर्ने वा टापुको आकाशमा उड्ने र ठूलो मात्रामा नौसेना सञ्चालन तथा अभ्यासलगायत सैन्य कारबाहीसहित उत्तेजक प्रतिकारात्मक कदम चाल्नसक्ने चिन्ताले अमेरिकी प्रशासनका अधिकारीहरू चिन्तित भएका बताइएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि सभामुख पेलोसीको भ्रमण अगाडि बढेको अवस्थामा चीनलाई जिम्मेवार ढङ्गले काम गर्न आग्रह गरेका छन् । उनले न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै सभामुख पेलोसीको ताइवान भ्रमण प्रति जिम्मेवार भएर प्रस्तुत हुन र द्वद्व चर्काउने गतिविधि नबढाउन बेइजिङलाई अनुरोध गरे ।
अमेरिकी अधिकारीहरूले भने सभामुख पेलोसीको ताइवान भ्रमणका क्रममा अमेरिकी सेनाले एशिया–प्रशान्त क्षेत्रमा आफ्नो सेनाको गतिविधि बढाउने बताएका छन् । सैनिक कारबाही तथा सञ्चालनबारे जानकारी दिँदै एकजना अमेरिकी अधिकारीले नौसेनाको विमान वाहक युएसएस रोनाल्ड रेगन र त्यसबाट प्रहार गर्ने दस्ता सोमबार फिलिपिन्स सागरमा तैनाथ गरिएका बताएका छन् । रडार प्रणाली, लडाकु जेट, हेलिकप्टर र अन्य अत्याधुनिक हातहतियारसहितका रेगन, क्रूजर यूएसएस एन्टिएटम र यूएसएस हिगिन्स सिङ्गापुरको बन्दरगाहबाट आफ्नो स्थायी शिविर जापानतर्फ लागेका उनले बताए ।
चीनले विद्रोही प्रान्तको रूपमा लिएको ताइवानलाई आवश्यक परेमा बल प्रयोग गरेर कब्जामा लिन सकिने बताउँदै आएको छ । बेइजिङले सभामुख पेलोसीको ताइवान भ्रमणलाइ लिएर आफ्नो सेना ‘चुप लागेर नबस्ने’ चेतावनी दिएको छ । चीनको बदलाको धम्कीले ताइवानमा नयाँ सङ्कट निम्त्याउने छ जसले जसले विश्वव्यापी बजार र आपूर्ति शृङ्खलाहरू ध्वस्त पार्न सक्नेछ ।
सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेर ताइवान र चीन छुट्टिएका हुन् । बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता दिए पनि अमेरिकाले ताइवानसँग अनौपचारिक रक्षासहित अन्य सम्बन्ध कायम राखेको छ । बेइजिङले ताइवानसँगको अमेरिकीसम्पर्कलाई द्वीपको दशकौं पुरानो स्वतन्त्रतालाई स्थायी बनाउन प्रोत्साहन गरेको मानेको छ भने अमेरिकी नेताहरूले त्यसलाई समर्थन नगरेको बताएका छन् ।
सभामुख पेलोसीले सोमबार सिङ्गापुरबाट एसियाली राष्ट्रको भ्रमण सुरु गरेपनि उनको ताइवान भ्रमणले यस क्षेत्रमा सनसनी मच्चाएको छ । सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले पेलोसीसँगको वार्तामा क्षेत्रीय शान्ति र सुरक्षाका लागि स्थिर अमेरिका–चीन सम्बन्धमा जोड दिएका थिए । जापानका विदेशमन्त्री योशिमासा हयाशीले पनि सिङ्गापुरका प्रधानमन्त्रीको अभिव्यक्तिको समर्थन गर्दै दुई प्रतिद्वन्द्वी शक्तिबीचको स्थिर सम्बन्ध अन्तर्राष्ट्रिय समुदायका लागि अति महत्वपूर्ण हुने बताएका छन् ।
फिलिपिन्सले अमेरिका र चीनलाई यस क्षेत्रमा ‘जिम्मेवार नायक’ हुन आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता टेरेसिटा डाजाले थप तनावबाट जोगिन अमेरिका र चीनले निरन्तर सञ्चार सम्पर्क सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
चीनले ताइवानमाथि लगातार कूटनीतिक र सैन्य दबाब बढाउँदै आएको छ । बेइजिङमा कम्युनिस्ट शासन एकमात्र वैधानिक सरकार भएकोले टापु र मुख्य भूमि मिलेर एउटै चिनियाँ राष्ट्र बन्ने दाबीलाई राष्ट्रपति साइ इङ्ग–वेनले समर्थन गर्न अस्वीकार गरेपछि चीनले सन् २०१६ मा ताइवानको सरकारसँगका सबै सम्पर्क विच्छेद गरेको हो ।










