मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाले युक्रेनलाई दियो थप अत्याधुनिक हतियार



एजेन्सी न्युयोर्क, २४ साउन। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनका लागि थप सहयोगको घोषणा गरेको छ । पेन्टागनले युक्रेनका लागि १ अर्ब डलरको नयाँ सैन्य सहयोग घोषणा गरेको हो । पछिल्लो सैन्य सहयोगमा थप हिमर्स प्रणाली मिसाइ समावेश छन् । यी मिसाइलले युक्रेनी सेनालाई युद्ध मोर्चाभन्दा धेरै टाढाबाट रुसी फौजलाई हमला गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।

प्याकेजमा रुसी विमान र रकेटविरुद्ध सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्रहरू, थप जेभलिन एन्टि–आर्मर रकेटहरू र अन्य गोला बारूदहरू पनि समावेश रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

पछिल्ला समयमा रुसले आफ्नो सम्पूर्ण बल पश्चिमी युक्रेनमा केन्द्रित गरेको छ भने युक्रेनले रुसले कब्जा गरेको खेर्सन सहरलाई पुनः फिर्ता गर्ने दाउमा रणनीतिक युद्ध गरिरहेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले ‘आणविक आतंक’ छेडेको आरोप लगाउँदै मस्कोको आणविक क्षेत्रमा थप अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आवश्यकता रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन आग्रह गरेका छन् । यसै सप्ताहन्तमा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसले गोलाबारी गरेको युक्रेनले आरोप लगाएपछि गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन अनुरोध गरेका हुन् ।

यसैबीच, २४ फेब्रुवरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले दाबी गरेका छन् ।

रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले यस्तो दाबी गरेका हुन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : ५८ बजे