मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोलबम सुरु भएसँगै जल चढाउने दर्शनार्थीले व्यस्त बन्यो हलेसी



खोटाङ, २६ साउन ।बोलबमका कारण खोटाङको त्रि–धार्मिकस्थल हलेसी चलायमान बनेको छ । साउनभर लाग्ने बोलबम मेलाको अवसरमा धार्मिक तथा पर्यटकीयस्थल हलेसी आन्तरिक तथा बाह्य दर्शनार्थीले व्यस्त बनेको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा साउन सुरु भएसँगै जल चढाउने दर्शनार्थीको भीड लाग्ने गरेको भए पनि हरेक सोमबारका दिन तीर्थयात्रीको घुइँचो लागिरहेको छ । कोभिड–१९ को महामारीले दुई वर्षसम्म सुनसान बनेको हलेसीमा बोलबमले ग्राहक बढ्दा व्यवसायी उत्साहित छन् ।

साउन सुरु भए यता हलेसीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रंगको पहिरनमा सजिएका पुरुष दर्शनार्थीको बाक्लो चहलपहल छ । साउनको तेस्रो सोसमबारसम्ममा करिब ४० देखि ५० हजार दर्शनार्थी हलेसी आएको अनुमान गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यालय सचिव सर्वधन बस्नेतले बताए । बोलबमको अवसरमा हलेसी आएका दर्शनार्थीका कारण साना तथा ठूला होटलहरु भरिएका छन् । होटेलमा कोठा नपाउँदा कतिपय दर्शनार्थी गाडीमै रात बिताउने गरेका छन् । पूजा सामग्रीको किनमेल बढेको छ । बोलबम मेलाले हलेसीको आर्थिक क्रियाकलापलाई चलायमान बनाएको छ ।

बिहान ४ बजे खुल्ने हलेसी मन्दीरमा दर्शनका लागि दर्शनार्थी राती दुई बजेदेखि नै लाइनमा उभिने गरेका छन् । दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न र बाहिरिनका लागि सहज बनाउन डोरी टाँगेर ‘वान वे सिस्टम’ बनाइएको छ । भीड व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा हरेक साउनको दोस्रो, तेस्रो र चौथो सोमबार थप दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

दर्शनार्थी चार पांग्रे गाडी र मोटरसाइकल चढेर हलेसी आउने गरेका छन् । हलेसी र हलेसी ओहोरदोहोर गर्ने बाटोमा सामुहिकरुपमा ‘बोलबम’ उच्चारण गर्दै यात्रा गर्ने दर्शनार्थीको संख्या पनि उत्तिकै बाक्लो देखिन्छ । बोलबम मेलाको अवधिमा हलेसीमा जल चढाउनका लागि नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । विगतको तुलनामा मन्दिरमा भीडको व्यवस्थापन चुस्त देखिएको सिराहाबाट हलेसी आइपुगेका दर्शनार्थी धिरेन्द्र यादवले बताए ।

मनोकांक्षा पूरा हुने विश्वासमा हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ । हलेसीमा देश तथा विदेशबाट आएका हिन्दु धर्मावलम्बीहरूले नुहाएर व्रत गर्दै महादेव, पार्वती र गणेशलाई नदीको जल चढाउने गरेका छन् । हलेसीमा विवाहित महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ ।

स्थानीयका अनुसार हलेसीमा बोलबम मेला लाग्ने प्रचलन भने करिब दशकदेखि मात्र सुरु भएको हो । तराईबाट कटारी–घुर्मी हुँदै हलेसीसम्म आउने–जाने सडक बिस्तार भएपछि र पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग विस्तार भएपछि हलेसीमा बोलबम मेला लाग्न थालेको हो ।
बराहपोखरीमा पनि मेला

बोलबमको अवसरमा खोटाङकै धार्मिक तथा पर्यपटीयस्थल बराहपोखरीमा पनि दर्शनार्थीको भीड लागेको छ । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पर्ने बराहपोखरीमा पनि हरेक साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ । शंखेश्वरी महादेवको दर्शन गर्न, मेला भर्न, घुमफिर गर्न र चन्द्राकार बराहपोखरीको दृश्यावलोकनकालागि बराहपोखरी चर्चित छ । संसारमै दुर्लभ मानिने रातो माछा पाइने बराहपोखरीको पानीले स्नान गर्दा रोगव्याधि निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ७ : ५० बजे