काठमाडौँ, ५ भदौ । “संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे । माक्र्सवादको बारेमा समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व गिरी सबैका प्रिय नेता हुनुहुन्थ्यो”, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय परिसर पुगेर स्व गिरिप्रति श्रद्धाञ्जली दिँदै श्रद्धाभाव व्यक्त गरे ।
समकालीन राजनीतिका अध्ययनशील र आदर्शवादी नेता गिरी राजनीतिमा प्रेरणाका स्रोत भएको नेकपा (एमाले) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले बताए । उनका अनुसार सांसद गिरी संसद्मा बोल्ने दिनमा सांसदको उपस्थिति पनि बढ्थ्यो ।
सादगी जीवन, निष्ठा र आदर्शको प्रतीक राजनीतिज्ञ गिरीप्रति आदर्शभाव व्यक्त गर्ने अधिकांशको बोली र लय एउटै थियो । राजनीतिज्ञ र बौद्धिक जमात मात्र नभई आम सर्वसाधारणलाई रुवाएर महाप्रस्थान गरेका नेता गिरीको सैद्धान्तिक विचारका अनुयायीहरु समकालीन राजनीतिमा धेरै छन् ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गिरी वास्तवमा निष्ठाको राजनीति गर्ने, अध्ययनशील, प्रखर बौद्धिक क्षमता भएको व्यक्तिका रूपमा आफूले स्मरण गरेको बताए । उनले भने, “राजनीतिक चिन्तक र विश्लेषक, समाजवादीहरुलाई पनि समाजवाद पढाउनसक्ने क्षमतावान् व्यक्ति हुनुहुन्थ्यो ।”
उनले नेपालको राजनीतिक दर्शनलाई सैद्धान्तिक र राजनीतिक पाटोबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने गिरी जनतालाई हेरेर जनतासँग भिजेर उनीहरुको उत्थानका लागि राजनीति गर्नुपर्छ भन्ने व्यक्तित्वका रूपमा आफूले पाएको उल्लेख गरे ।
पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी पनि स्व गिरीको अभाव संसद्मा खड्किएको बताउछिन् । “संसद् चलिरहँदा सदन बाहिर, क्यान्टिनमा रहेका सांसद पनि उहाँको विचार सुन्न चाहनुहुन्थ्यो, त्यसकारण नेपालको राजनीतिक आन्दोलनमा उहाँको आवश्यकता खड्किरहनेछ र हामी सधैँ सम्झिरहनेछौँ ।” नेकपा (माओवादी केन्द्र) का सांसद सुवेदीले समाजवादी आन्दोलनका अगुवा गिरीको निधनले राज्यको परिवर्तनकारी आन्दोलनमा उनको अभाव सधै खड्किरहने उल्लेख गरिन् ।
नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायर कांग्रेसका संस्थापक नेता जननायक वीपी कोइरालाको दर्शनलाई कार्यान्वयन गर्ने नेता स्वर्गीय गिरी भएको बताउछन् । “स्व गिरीले नेपाली राजनीतिमा दिनुभएको विचारलाई आगाडि बढाउन सके पार्टी र देश दुवैलाई फाइदा पुग्छ”, उनले भने ।
लामो समय भारतको बनारसका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गरी स्वदेश फर्कनुभएका नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो । निधनको खबर थाहा पाउनेबित्तिकै देशका राष्ट्र प्रमुख राष्ट्रपति, कार्यकारी प्रमुख प्रधानमन्त्री, सत्तारूढ दलका शीर्षस्थ नेता एवं प्रमुख प्रतिपक्षी दलका नेताले विभिन्न माध्यमबाट श्रद्धाञ्जली व्यक्त गरे । पार्टीका नेता कार्यकर्ता, शुभचिन्तकले अस्पताल, पार्टी कार्यालय र पशुपति आर्यघाट पुगेर स्व नेता गिरिप्रति श्रद्धाञ्जली अर्पण गरे ।रासस










