काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले काठमाडौं महानगारपालिकाका प्रमुख बालेन शाहको कदम स्वागत योग्य भएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत काफ्लले युवासँग भएको एउटा ताकतलाई बालेनले प्रयोग गर्न सकेको भन्दै प्रशंसा समेत गरेका छन् ।
काफ्लेले भनेका छन, ‘नेपालमा विधिपद्धतिलाई घज्जी उडाउने र विभिन्न शक्तिको आडमा अकर्मण्यतालाई बढावा दिईने प्रचलनले जरा गाढेको अवस्थामा काठमाडौं महानगरपालिकाका मेयर शाहले गरिरहेको कार्यको प्रशंसा गर्दछु ।’मेयर शाहले यतिमात्र काम गरेर थाक्न नहुने काफ्लेले औल्याएका छन् ।
सामाजिक सञ्जालमा काफ्लेले लेखेको सामाग्री जस्ताको तस्तै :
नेपालमा बिधिपद्धतीलाई धज्जी उडाउने र विभिन्न शक्तिको आडमा अकर्मण्यतालाई बढावा दिइने प्रचलनले जरा गाढेको अबस्थामा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरिरहेको कार्यको प्रशंसा गर्दछु ।
राष्ट्रिय भवन संहिताको मापदण्डअनुसार जसरी नक्सापास भएको छ त्यसैगरि घरसंरचना निर्माण गरिनुपर्छ । नक्सामा एउटा प्रयोजन खुलाई पास गरेर अर्को प्रयोजनमा प्रयोग गर्नु हुँदैन । काठमाडौंका कतिपय संरचनाहरुमा अवैधानिक रुपले प्रयोजन परिवर्तन गरेको देखिन्छ । यस्ता अवैधानिक प्रयोजनका संरचना हटाउन मेयर बालेनले गरेको साहसका लागि म धन्यवाद व्यक्त गर्दछु ।
अस्तव्यस्तताले काठमाडौंको शहरी कुरुपता थप्ने क्रम जारी रहँदा महानगरका पार्किङका लागि भनी अनुमती लिएका संरचनामा अन्य वन्दव्यापार चलाउनु अनाधिकृत कार्य हो । मापदण्ड परिपालना गर्नु हामी सबैको कर्तव्य तथा दायित्व हो । व्यबस्थित शहर निर्माणार्थ मेयर बालेनले गरिरहेको कार्य प्रभावकारी बनोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
‘केही गरौ’ र ‘मैले नै हो गर्नुपर्ने’ भन्ने हुटहुटि भएको युवा नेतृत्वमा पुग्दा आफ्नो हिम्मतपूर्वक कुशल कार्यसम्पादन गर्न सक्छ अनि उसले आफ्नो कार्यकारी क्षमतालाई इमानदारपुर्वक देखाउँछ भन्ने एउटा उदाहरण बन्ने संकेत बालेनमा देखिएको छ ।यसैगरि, युवाहरुले नेतृत्वमा आफ्नो क्षमता र आँट देखाउनुपर्दछ । समुन्नत दोलखा साथै समुन्नत देश हाम्रै पालामा सम्भव छ भन्ने सङ्कल्प बोकेर हिँडेको व्यक्ती हुनुको नाताले समेत आम जनसमुदायलाई परिवर्तनका पक्षमा उभिइ एक भएर महानगर बनाउने, गाउँ बनाउने र देश बनाउने कुरामा लाग्न प्रेरित गर्दछु ।










